Tuesday, November 09, 2010

प्रायश्चित

धेरै दिन भयो मन बिचैनीले छटपटाएको कुनी किन हो धेरै पटक आफैले आफैलाई सोध्ने प्रयास पनि गरेको हो तर पनि सहि उत्तर पाउन सकिरहेको छैन। खासमा ब्यस्थता पनि छैन फुर्सद पनि छैन खोइ कुन हिसाबले यी दिनहरु बित्दैछन म आफैलाई पत्तो छैन। बेलुका बिछ्छयौनामा पुग्दा भोली गर्नु पर्ने कामको सुची तयार हुन्छ तर बिहान उठ्यो अर्कै हिसाबले दिन गुज्रन्छ बास्तबमा भन्नै पर्दा अब्यबस्थित ढंगले यी दिनहरु त्यसै दौडिरहेका छन्। भित्रै देखि केही लेख्छु आज त कुनै टासो ब्लगको भित्तामा भन्ने लाग्छ, शिर्षक पनि छान्छु, २-४ हरफ लेख्छु पनि तर त्यसपछी मेरा औंलाहरु किन किन keyboard का अक्षरहरु थिच्न लरबराउछन,मन शुन्य भएर आउछ शब्दहरुको ठेलामठेलले सोच्ने ढोकै बन्द गरिदिन्छ तर आज किन किन मेरा अन्तरइच्छा भित्र दबित असिमित चाहानाहरु भनौ वा गुनासोहरुको बाध फुट्दै छ बिचैनिममा छटपटाएको मनलाई सान्त्वना प्रदान गर्ने धेय राखेर यी शब्दका कुसुमहरु बुन्दै छु।
दिन चलेकै छ,रात जसोतसो ढलेकै छ,मनभरी सुन्दर सपनाहरुले ठुला ठुला महलहरु सिर्जना गरेकै छ तर खोइ फिस्स मुस्कुराउने ओठहरु बन्दको बन्दै छन, जिन्दगीको क्षितिज एक झुल्का घामको रजस्वलामा लतपतिन पाएको छैन, तड्पिएर भएपनि यो मझधारको जिन्दगी बाच्नुको मज्जा नै बेग्लै हुदोरहेछ।शुन्य दिमाग,अत्यालिएको मन,निभ्न लागेको आत्माबिश्वास, बीचलित भाबनाका अर्थहिन तरङग बीच थरथर कापेको भौतिक शरीरले तय गरेको अन्त्यहिन बाटोको यात्रामा मेरा पाइलाहरु अघि बढ्दै गर्दा एकातिर बिश्वासमा आत्मिय सम्बन्धको आधारशिला,हाम्रो सम्बन्धलाई जोड्ने कोशेढुङ्गा अनी जीवनलाई रोशनिमा ढाल्न मेरो मनले खोजिरहेको छ भने अर्कोतिर एकै साथ अन्धबिश्वासको मृत्‍युको घोषणा गर्न आतुर बनिरहेको छ।
मेरो जिन्दगी आखिर रिमोट कन्ट्रोलर अर्कैको हातमा भएको टेलिभीजनको स्क्रीन जस्तो न रहेछ, रिमोट कन्ट्रोलर अर्कैको हातमा छ जती बेला जुन च्यानल मन पर्छ फेरि फेरि हेर्छ मात्र म उसको थिचाइमा बिभिन्न रुप फेरि फेरि डिस्प्ले हुन्छु। उसलाइ मन लाग्दैन स्विच अफ गरिदिन्छ। उफ! कस्तो जिन्दगी सम्झदै दिक्क लागेर आउछ जति नै तिरस्क्रित भएपनि सारमा यो जिन्दगीको माया अती नै लाग्दो रहेछ नत्र धेरै पटक मृत्‍युको बिकल्प नदेखेर पनि किन त्यो बाटो अपनाउन सकेको छैन? आत्माहत्या कायरहरुको एजेन्डा हो म त्यती कायर पनि छैन, यदि म कायर होईन भने किन जिन्दगी गर्बले बाच्ने साहास म भित्र छैन? किन म आफ्नो जिन्दगीको निर्णय आफ्नो तरिकाले गर्न सक्दिन? किन म प्रत्येक पल दुखिरहेको छु? बिरोधाभाष छन् मेरा सोचाइहरु आफै भित्र।
सोचमग्न मन सोच्छ अनेक,हराउछ बिगत भित्र उकुशमुकुश बन्छ,चिटचिट पसिनाले निथ्रुक्क भिजेर प्रायश्चितको भाषामा हिर्दय भित्र उथलपुथल नै मच्चाउछ,गुनगुनाउछ एक्लै,रिसाउछ आफैसग र भन्छ -मेरो कारण तिम्रो बदनाम भएपनि नियतबस मैले कहिल्यै तिम्रो कुभलो चिताएको छैन। मेरा बिश्वाशघातले तिम्रा मुटु छिया छिया बनाएको होला, तिम्रा सुन्दर नयनहरु श्राबण बर्षाउदै होलान्, बिबशताको बन्धनमा परेर तिमी मेरो जिन्दगीदेखी टाढा जाने बाटो खोज्दै होउली कहिल्यै नभेटिने कसम खाँदै हाम्रा मीठा सपनाहरुलाई लास बनाएर। हो तिमी मेरो कोहि थिइनौ र म पनि तिम्रो कोहि थिइन तर कोहि नहुनुमै पनि मैले तिमीलाई जिवनभरी दुख्ने चोट थुपरिदिए,मैले दिएको चोटमा तिमी छटपटाउछौ होला, दर्दले बरबराउछौ होला यी दिनहरुमा म भने स्‍मृतिमा आलो ती घाऊहरुलाई कोट्याएर आफैभित्र दुख्दै छु।साँच्चै तिम्रो निस्वार्थ माया र खुल्ला हिर्दयकोको सहयोग मेरो आलोकाचो जिन्दगिलाई थियो तिम्रो जिन्दगिलाइ होईन,म तिम्रो मायाको छहारी भित्र मौलाएर लहराउन चाहन्थे तर मेरा यी अबोध चाहाना मैले कहिल्यै तिमिसामु पोख्न नसकेकोमा आज हिनता बोध गर्दै छु। तिमी असल थियौ, तिमि भित्र कुनै छलकपट थिएन र त भगवान ले तिमीलाई नै रोजे परिक्षणको लागि इमान्दार मान्छेको खाचो भगवानलाई पनि थियो होला त्यतिबेला। तिमिले जसरी मैले पनि मेरा दु:खहरुलाई जिन्दगीको नयाँ पहिचानको रुपमा स्वीकार गर्न सिकेको छु, भोलीको जिन्दगी रहन्छ वा रहदैन तर आजमा रमाउन थालेको छु।
तिमी मेरो सम्पुर्णता थियौ र हौ पनि,जिन्दगी सहि तरिकाले बाच्ने प्रेरणा तिमिले नै मलाइ प्रदान गरेकी थियौ,जे नहुनु पर्ने थियो त्यो भयो त्यतीबेला त्यो मेरो बाध्यता भन्ठान वा तिमिले सिकाएको संस्कार। तिमी नै भन्थ्यौ नी जीवन पूर्ण हुन सुख र दु:ख को स्थान बराबर हुनुपर्छ हो आज यही जीवन पूर्ण हुने क्रममा एउटा इट्टा त थपिएको छ तर मेरो मनले दु:ख रोज्न थालिसकेको छ यतिलाई दु:ख नमानेर। जिवनको यो अथाहा घुम्तिमा कति मोडिनु पर्छ मलाइ कुनै प्रबाहा छैन समयले लुटेको त्यो हाम्रो अधुरो खुशी फिर्ता लिनालाई अनी तिम्रो बस्तिहरुमा फेरि फर्किनलाई। मलाई विश्वाश छ तिम्रा पाइलाका डोबहरु पछ्छ्याउदै तिमीलाई भेट्न आउँदा तिम्रा मनले मलाइ सहर्ष स्वीकार गर्नेछ, तिम्रा बस्तिका ढोकाहरु मेरा लागि खुला रहनेछ। स्वतन्त्र पंक्षी जस्तै फेरि हामी सगै खुल्ला आकासमा एकैसाथ उड्ने छौ त्यो परको क्षितिज चुम्नलाई।






















































No comments: