मेरो जीवनको त्यो १ दिन

यसमा उल्लेखित पात्रहरु सत्य घटनका काल्पनिक पात्र हुन।
काठमान्डौ सम्मको यात्रा गर्नु थियो त्यो दिन करिब ३ घण्टाको बाटो न हो कुनै भवितब्य बीच बाटामा नपरे त्यसैले बिहानको खाना पछि मात्र यात्रा तय गर्ने निर्णय मैले गरेको थिए। यसपटक भान्जाको पनि बिद्यालय बिदा भएको कारण म सगै केही दिन काठमान्डौ घुम्न जाने मनसाय थियो उनको त्यसैले बिहानको खाना खाएर दिदीसग बिदा मागेर करिब २ बजे तिर हामीले यात्रा शुरु गर्यौ। बस चढ्ने ठाउमा पुग्नु पहिले करिब २0 मिनेटको पैदल यात्रा गर्नु पर्ने थियो। २0 मिनेटको पैदल यात्रा पछि हामी बस चढ्ने ठाउमा पुग्यौ। मैले बस रोके, बस बेसिशहरबाट आएको रहेछ। हामी बसमा चढेउ, हामी सगै अन्य २ बहिनीहरु पनि चढे उनिहरुसग मेरो सामान्य चिनाजानी पहिले देखि नै थियो त्यसमाथी हामी एउटै बिद्यालयका विद्यार्थी भलै म उनिहरु भन्दा ५-७ ब्याच सिनियर भएपनि त्यसमाथी भान्जा पनि त्यहि बिद्यालयका विद्यार्थी अनी एउटै गाँउले पनि।
हामी( म र भान्जा) बसको अन्तिम सिटको देब्रे पट्टि झ्याल तर्फ बस्यौ भने सगै चढेका बहिनीहरु अली अगाडीको खाली सिट्मा बसे। बस अगाडी बढ्यो काठमान्डौ सगको दुरी घटाउदै। हाम्रो सिटको अगाडी सिटमा केटा र केटी थिए। केटी झ्याल तर्फ बसेकी थिइन भने केटा उनको दाँया तर्फ। बेला बेला गफिदै मस्किदै थिए। घरी घरी केटी पछाडि फर्की फर्की हेर्थिन म पनि के कम उनको नजर माथि नजर मिलाइदिन्थे। मलाई लाग्थ्यो यी १ युगल जोडी हुन त्यसैले पनि मेरो मनमा कुनै नराम्रो भाब भने पलाएको थिएन उनिप्रती। सुन्दर बस्तु न हो हेर्न किन डराउथे र म भलै उनी बिबाहिता नै किन नहुन? करिब २ घण्टाको यात्रा उनको पछाडि फर्की हेर्ने अनी उनको नजर माथि नजर जुधाउने क्रममै बित्यो। नास्ताको लागि बस धार्केको कुनै रेष्टुरेन्टमा रोकियो अनी हामी सबै बसबाट ओर्लियौ। भान्जाको लागि मैले एक प्याकेट चिजबल र एउटा फ्रुटी किनिदिए भने म आफुले पनि फ्रुटी पिए। एक्कासी मेरो नजर म सग घरी घरी आँखा जुधाउने उनी माथि पर्‍यो, उनी उही हामी सगै बस चढेका बहिनिहरुसग कुरा गर्दै थीइन,मलाई ढुङगो खोज्दा देउता मिले जस्तो भयो मनमनै भगवान पुकार गरेर भने धन्य भगवान यसपटक म उनिसग बोलेर छाड्छु। म उनिहरु तर्फ नजिकिए म भन्दा पहिल्यै बहिनीहरुले सोधे दाई तपाईं पनि काठमान्डौ?- हजुर काठमान्डौ मैले भने। अनी मैले सोधे तपाइहरु एक अर्कालाई पहिल्यै देखि चिन्नुहुन्छ? दुई मध्ये एक बहिनीले भनिन त्यस्तो गाढा चिनारी होईन तर हामी ब्युटी पार्लर जादा उहासग भेट भएको थियो। मैले ए! भने अरु गफ अघि बढेन।
बस पुन: आफ्नो गन्तब्यतिर अघि बढ्न लाग्यो, सबै यात्रु हरु बस चढ्न लागे हामी पनि चढेउ। यसपटक मैले भन्जासग सिट साटे अब म उनकै पछाडि थिए। उनैले बोल्न खोजिन तर प्रत्यक्ष म सग बोल्ने साहास उनको थिएन वा भएर पनि त्यसो गरिनन। मलाई पनि चिजबल दिने हो बाबु? बाबुको नाम के हो? भन्जा तिर प्रश्न तेर्सिए मैले पनि भान्जालाई सिकाए दिने किन नदिने नि! म-समिर। भान्जालाई मैले पनि उनको नाम सोध्न लगाए अलिक डरको स्वरमा उनीले भनिन सुनिता। यस्तै २-४ सामान्य गफगाफ भन्दा अरु केही भएन तर एक अर्काको आँखा भने निरन्तर ठोक्किरहेका थिए। बस नागढुङा हुँदै काठमान्डौ खाल्डो प्रबेश गरिसकेको थियो।
थानकोट सम्मको यात्रा गर्ने यात्रुहरु आफ्नो सरसामान बोकेर ढोका तिर नजिकिदै थिए,यात्र शुरु गर्ने भन्दा यात्रा पूरा गरि झर्ने यात्रुहरु मात्र थिए, बस भित्र अली अली हल्ला फिजिएको थियो यही मौका पारेर सुनिताले मलाई फोन डायरि बडो सतर्कताको साथ दीइन,मैले उनको कुरो बुझिसकेको थिए उनी मेरो फोन नम्बर माग्दै थीइन। झोलाबाट पेन निकाले र मेरो मोबाइल, घरको दुबै नम्बर उनको डायरिमा लेखिदिए अनी जसरी उनले मलाई दिएकी थीइन् मैले पनि त्यसरी नै उनलाई फिर्ता गरे। बसले कलंकी पार गरिसकेको थियो हामी सितापाइलामा झर्नु पर्ने त्यसैले मैले झोला तयार गरे अनी उनीसग बिदाइ माग्दै ढोका तिर नजिकियौ। बस रोकियो हामी ओर्लियौ तर मेरा नयन भने उनिलाई हेर्न अझै ब्याकुल नै थिए, यसो झ्याल तिर फर्केर हेरे उनी पनि मलाइ नै हेर्दै थीइन। बस हुइकियो मेरा नजर उतै हुत्तिरहे पर परसम्म बसको गतिसगै,यात्रामा केही छुटे जस्तो लाग्यो,मन सलबलाईरह्यो,अनेक सोचहरु बिष्फोट होला जस्तै गरि तछाडमछाड गर्दै मच्चीरहे मनको सेरोफेरो भित्र।
सितापाइलादेखी डेरा सम्म पुग्न त्यस्तै १0 मिनेटको बाटो हिडेर गएमा हामीले ट्याक्सीको साहारा लियौ ३ मिनेटमै डेरामा पुगियो। यतिबेला करिब ५.३0 बजिसकेको थियो। डेरामा पुगेको त्यस्तै ५ मिनेट पछि मोबाइलमा घण्टी बज्छ फोन उठाउछु।
हेल्लो- मलाइ चिन्नु भयो?
चिने चिने जस्तो लाग्छ- तपाइ सुनिता होइन?
हजुर- मलाइ भेट्न आउनु न म बालाजु बसपार्क मा छु।
मलाइ फुर्सद छैन भेट्न मन भए हजुर नै आउनु
हुन्छ तर म कहाँ आउने?
छाउनी आर्मी हस्पिटल आगाडी आएर मलाई फोन गर्नु म लिन आउँला
हवस! म त्यहाँ आइपुगेपछी हजुरलाई फोन गर्छु।
ओके!
एक अर्कामा चिनारी त्यती राम्रो नभएको त्यसमाथी बालाजु बसपार्क देखि एउटा केटी मान्छे साँझ पर्नै लाग्दा मलाइ भेट्न आउछे भनेर मैले कल्पना पनि गरेको थीइन त्यसैले पनि मैले मलाइ फुर्सद छैन भन्ने बाहाना बनाएको थिए तर परिणाम मैले सोचे जस्तो भएन। करिब २0 मिनेट पछि पुन: मोबाइल बज्छ फोन उठाउछु उही परिचित स्वर हजुर म हस्पिटल अगाडी छु। ओके! त्यहि बस्दै गर्नु म लिन आउँछु। यसपटक मेरा मनले कुनै अर्को बाहाना बनाउन चाहेन भनौ वा भ्याएन। भान्जा र भाईलाई डेरामै छोडेर म उनीलाई लिन गए साँच्चै उनी मेरै पर्खाइमा थीइन् मैले उनको हातमा रहेको एउटा प्लास्टिकको झोला लिए अनी हामी डेरा तिर अगाडी बढेउ।
५ मिनेटको पैदल यात्रा पछि हामी डेरामा पुग्यौ मैले एउटा कुर्ची तानेर उनलाई बस्न आग्रह गरे झोला कोठाको कुनामा राखेर उनी कुर्चीमा बसिन, छेउकै अर्को कुर्ची तानेर म पनि उनकै सामुने बसे, भाई र भान्जा अर्को कोठामा टेलिभीजन हेर्नमै ब्यस्थ थिए। उनले एक्कासी म हजुरलाई मन पराउछु,माया गर्छु भन्न थालिन म अचम्ममा पर्दै थिए उनको यी बाक्यांसले, उनका नयन आँशुले टम्म भरिएका थिए मेरो सामु यी शब्दहरु बहकिरहदा अनी उनको एउटा प्रश्न थियो हजुरलाई म मन पर्छ?
आफूलाई बडो सम्यमित बनाउदै मैले भने- सुनिता हामी २-४ घण्टा अगाडी बसमा भेटिएका त्यो छोटो यात्राको सहयात्री मात्र हौ त्यो भन्दा बढी हामिसग हाम्रो परिचयको अर्को कुनै निशानी छैन न तिमीलाई म चिन्दछु न मलाइ नै तिमि। घर कहाँ?,के गर्छौ?,कस्तो मान्छे यी सब अझै हामी बीच अन्धकार छ। तिमी सुन्दर छौ, बोलिमा मिठास छ हो मलाई पनि तिमी राम्री लाग्छौ तर प्रेम यौवनको उमंग मात्र होईन,सुन्दरताको परिणाम मात्र पनि होइन,बच्चाले भाडाकुडी खेले जस्तो खेल पनि होईन जहाँ माटो, ढुङा,पात जस्ता बस्तुहरुलाई कुनै एउटा बस्तुको संज्ञा दिएर मनोरन्जनात्मक तरिकाले खेल्न सकिन्छ। अनन्तकालसम्म अजर अमर रहिरहने प्रेम त जीवन हो जहाँ संसार जित्ने प्रण हुन्छ, सुख दुखमा बिचलित नबन्ने बाचा हुन्छ, जहाँ अरुलाई पनि आफुभित्र समाहित गरेर हेर्न सकिन्छ त्यसैले तिमिले यो केटाकेटीको पारामा म प्रति गरेको प्रश्नको उत्तर म यति छिटो दिन सक्दिन, यति छोटो समयमा म दुई जिन्दगीको यति गहकिलो निर्णय गर्न सक्दिन। यदि तिमी मलाइ साँच्चै माया गर्छौ भने एकदिन तिम्रो प्रेमले बिजय हासिल गर्ने छ त्यो दिन तिम्रा यी सुन्दर नयन होईन मेरा नयनले हर्षको आँशु बगाउने छ।
भाईलाई बोलाए खाजा बनाउन लगाए, त्यस्तै १५ मिनेट भाईले चाउचाउ तयार गरि हामीलाई टेबुल सम्म ल्यादियो। सुनिता, सेल खाने ल मैले घरबाट लिएर आएको छु भन्दै झोला खोतल्न थालिन मैले भो पर्दैन अरुको कोसेली होला हामीले खानु कहाँ हुन्छ भने तर उनीले मानिनन झोला खोलेर सेल बाहिर निकालिन मैले पनि सानो टुक्रा चुडेर लिए।
यति बेला करिब ६.३0 बजिसकेको छ टेबलमा भएको ल्यापटप अन गरे अनी २-४ इमेल चेक गरे। मौन बाताबरण छ सबै चुपचाप साझ पर्नै लागिसकेको थियो तापनि उनी हामीसग बिदाइ माग्ने मनस्थितिमा थीइनन। मैले आफैले मुख खोले सुनिता जी! बसाइ कता छ? बालाजु- दिदि सग बस्थे तर हेर्नु न आज दिदि मनकामनाको दर्शन गर्न जानुभएछ म सग कोठाको चाबी छैन। मेरो मन भित्र अनेक कुरा एकै साथ खेल्न थाले मनमनै आफैले आफैलाई सोधे यसले बाहाना बनाइ आज यो कतै यति बस्न त खोज्दै छिन? फेरी सोचे साँच्चै आपत परेको पनि हुन सक्छ यो काठमान्डौ हो,यहा कसैलाई कसैको वास्था हुदैन, यहाँ सबैसग सधैं भ्याइ नभ्याइको जीबन छ। फेरि म आँफैलाई पनि कुनै दिन यस्तै समस्या परेको थियो त्यसैले पनि यी सब उनका बाहाना हुन भनेर भन्न सक्ने हिम्मत म सग थिएन। यदि तपाइलाई साँच्चै समस्या परेको भए आज यही हामीकहा बस्दा भैहाल्छ। एकछिन अघि फुङग उडेको उनको अनुहारमा मेरा यी शब्दहरुले चमक भरिएर आए जस्तो लाग्यो। उनले भनिन- हुन्छ यदि हजुरहरुलाई कुनै समस्या मेरो कारणले पर्दैन भने। मैले केही समस्या नपर्ने बताए, उनलाई एउटा कोठा दिएर पनि हाम्रो लागि प्रयाप्त कोठाहरु थिए,कुनै अप्ठ्यारो पर्ने थिएन।
हुन्छ सुनिता जी आज यही बसौ,यो तपाइको कोठा, उनले झोलाहरु उठाइन र कोठामा छिरिन, ढोका बन्द गरिन म ल्यापटप तिरै अलमलीरहे, भाई र भान्जा टेलिभिजन हेर्नैमा मस्त थिए केही छिन पष्चात कपडा फेरेर उनी कोठाबाट बाहिरीन यसपटक निलो रङको लामो स्कट र भेस्ट मा थीइन् उनी।
ल्यापटप अफ गरे अनी किनमेलको लागि सुनिता र म बाहिर निस्कियौ। छाउनीदेखी स्वयम्भु भगवान पाउसम्म गयौ त्यसपछी पुन उही बाटो फर्कियौ। फर्किदा आधा के.जी.मासु, आईसक्रिम,तरकारी,फलफुल किनियो। सुनिताको आग्रहमा एउटा हिन्दी फिल्मको सिडी पनि भाडामा लिए खोइ कुन फिल्म थियो आज मलाइ याद भएन। करिब ७.४५ तिर हामी डेरामा फर्कियौ,सबै मिलेर खाना तयार गरियो,रमाइलो बातावरणमा खाना खायौ, भान्साको सबै काम सबै मिलेर गरियो। यतिबेला ९.00 बजिसकेको छ त्यो साझ २0६२ सालको एस. एल. सी. को परिणाम आएको थियो त्यसैले पनि इन्टरनेटमा परिणाम हेर्दिन आग्रह गर्दै मोबाइलमा फोन निरन्तर आइरहेको थियो त्यसैले म ल्यापटप तिरै अलमलिए भने सुनिता भाई र भान्जा फिल्म हेर्न पट्टी लागे।केही क्षण पश्चात म पनि उनिहरु भएतिरै लागे, सुनिता नजिकै गएर बसे फिल्मका पटकथा सगै उनको गह टम्म आँशुले भरिएका थिए। १0.३0 बजिसकेको थियो भान्जा र भाई सुत्ने तरखरमा लागे अ साची भन्जा त निदाइ पो सकेका थिए शायद यात्राको थकान अनी बाल उमेरले गर्दा होला। भाई पनि बिछ्छयौना तिर लागेपछी उनिसगै त्यस्तै १५ मिनेट फिल्म मन लागे पनि नलागे पनि हेरे त्यसपछी मलाइ पट्यार लाग्न थाल्यो अनी उनिलाई शुभरात्री सुनिता जी भन्दै म बाहिरिन खोजे। अब सुत्नुपर्छ मलाइ पनि बोर लागिरहेको छ उनले भनिन मैले टेलिभिजन अफ गरे अनी आफ्नो कोठातिर लाग्यौ।
बिहान निन्द्राले अन्य दिनहरुमा भन्दा अलिक चाडैनै छोडेछ ब्युझिदा त्यस्तै ५.३0 बजेको थियो भाई एस. एल. सी. परिणाम आएको हुनाले पत्रिका किन्न भनेर म भन्दा पहिल्यै उठेर बाहिर हिडिसकेको रहेछ,भान्जा भने अझै मस्त निन्द्रा मै थिए। सुनिता पनि ब्युझिसकिछिन ढोका खोलिन अनी पुन: बिछ्छयौनामा गएर बसिन। मैले अनुमती मागे कोठा भित्र छिर्न उनले अनुमती दीइन म उनकै छेउमा गएर बसे। आज त्यती सार्हो निद परेन बोल्ने बाहाना खोज्दै मैले मुख खोले उनीले पनि आफूलाई पनि त्यस्तै भएको बताइन। गफ गरेर बस्नु हुन्थ्यो नी त! रातै भरी उनले भनिन। ढोकामा चुकुल ठोकेर सुत्ने कसरी गफ गर्नु मैले ठट्टा गरे। ढोका ढकढकाएको भए वा मलाई बोलाएको भए भैहल्थ्यो नी उनले जबाफ फर्काइन। यस्तै सामान्य गफगाफ भए भान्जा पनि ब्युझिसकेका थिए भने भाई पनि फर्किसकेको थियो मैले चिया तयार गरे। चिया पिईसकेपछी बिछ्छयौना मुनी रहेको सुट्केस खोले अनी उनीलाई एउटा फोन डायरि दिए किनकी हिजो मलाई फोन नम्बर टिपाउन उनले दिएको डायरि निकै पुरानो थियो, सब पानाहरु च्यातिने क्रममा थिए। त्यसको साथसाथै १ शिशी अत्तर पनि दिए। सुट्केस भित्र रहेको मेरो फोटो एल्बम उनले हेर्ने मनासाए गरिन मैले एल्बम निकालेर उनको हातमा थमाइदिए, उनी फोटो हेर्न थालिन अनी एउटा मेरो फोटो झिकेर यो मलाइ दिन सक्नु हुन्छ भनिन। मैले हुन्छ किन नसक्नु सहजै स्वीकार गरे उनी खुशी भईन। त्यसपछी उनले पनि झोला भित्रबाट उनको एउटा फोटो निकालेर मलाइ दीइन जबकी मैले उनिसग फोटो मागेकै थिइन तैपनी उनको यो व्यबहारले मलाइ हर्षित नै तुल्याएको थियो।
सुनिता ले फेरि उही कुरा दोर्हाइन म हजुरलाई माया गर्छु?खोइ त तपाईंको उत्तर? प्लिज केही त भन्नु। मसग पहिले देखिकै पुर्बनिर्धारित उत्तर थियो यति छिटो कसरी भन्न सकिन्छ जिन्दगीको यति गहकिलो निर्णय। करिब १0.00 बजिसकेको थियो अझै उनी हामिसग छुट्टिने कुनै संकेत सम्म थिएन अब उनी अलिक बोझिलो बन्दै थीइन त्यसैले मैलेनै केही बहाना बनाए सुनिता जी अब म बिद्यालय जानु पर्छ भाई र भान्जा पनि घुम्न जाने रे अब हामी निस्कनु पर्छ। उनले घरको नम्बरबाट कसैलाई फोन गरिन अनी कपडा फेर्न कोठाभित्र छिरिन,म पनि आफ्नो कोठामा गएर कपडा फेरे, उनीले झोला तयार गरिन अनी भान्जा र भाई सग बिदा मागिन मलाइ भने अलिक परसममा पुर्‍राइदिन आग्रह गरिन मैले उनको प्रस्ताब स्वीकार गरे अनी लागे म पनि उनी सगसगै स्वयम्भु भगवान पाउतिर। फेरि उनी स्वयम्भुको डाडोसम्म म सगै जाने मनसाए ब्यक्त गरिन मैले यसमाथी पनि सहमती जनाइदिए। सिमसिम पानी स्वयम्भुको सिढी सगै चढियो माथि डाँडामा पुगेर एकपटक काठमान्डौ खाल्डो नजरले भ्यायसम्म नियालौ। उनी एउटा सानो मनी ब्याग किन्न पसलभित्र छिरिन मैले ब्यागको पैसा तिरे मलाइ पनि कता कता उनी आफ्नै कोहि जस्तो लाग्न थालिसकेको थियो तर म कुनै गल्ती गरेर पछुताउन चाहदैन थे त्यसैले पनि मेरो मनले मेरा चाहानाहरुलाई नियन्त्रण गरिरहेको थियो त्यसैले धेरै बुझेर मात्र उनको प्रस्तवमाथी ग्रीन सिग्नल दिने सोचमा म थिए।
हामीसगै ओरालो झर्यौ चक्रपथपट्टि भोक लागिरहेको थियो खाना खानाको लागि हामी इभन ग्रिन रेष्टुरेन्टमा छिर्यौ। उनले चिकेन म म र फेन्टा अनी मैले चाउमिन र कोक को अर्डर गर्यौ। रेष्टुरेन्टमा पनि फेरि उनीले उही कुरा दोर्हाइन यसपटक मैले आफूलाई कम्तिमा पनि १ हप्ताको समय चाहिने कुरा बताए उनले पनि सहमती जनाइन। करिब १२.00 बजेतिर उनलाई बालाजु जाने बस चढाएर उनिसग बिदा भई डेरामा फर्किए।
करिब १ घण्टा पछि फोन आयो यसपटक मैले अली रुखो व्यबहार देखाए अलिकति झर्किए र भने मलाइ धेरै फोन गरेर पैसाको सत्यनास नगर हामी भर्खर त छुटिएका यस्तो पागल नबन तिमी। त्यसपछी उनीले फोन काटिन। मेरो मन भने अत्तालिरह्यो,कताकता दुखिरह्यो कतै उनिसग झर्किएर नराम्रो त गरिन जस्तो लागिरह्यो।
करिब एक हप्ता उनी हराइन,न उनको फोन नम्बर थाहा थियो मलाई न उनको बसाइ,मात्र मलाई यति थाहा थियो उनी सुनिता घर लम्जुङ त्यो पनि उनीलाई विश्वाश गरे मात्र,शायद वास्तविकता अर्कै हुन पनि सक्थ्यो। ज्ञानोदय मा बी बाफलमा बी. एड. तेस्रो बर्षको अभ्यास शिक्षण चलिरहेको थियो त्यतिबेला 0५६ को लाइन बाट मेरो मोबाइलमा फोन आउछ फोन रिसिभ गर्छु उनै सुनिता। हजुर म त लम्जुङ फर्केको थिए यता फर्किने बेला हजुरलाई फोन पनि गर्न सकिन म अहिले कठमान्डौ फर्कने क्रममा मुग्लिङमा छु म काठमान्डौ आइपुगेपछी हजुरलाई फोन गर्छु भेट्न आउनु है। हुन्छ काठमान्डौ आइपुगेपछी मलाई फोन गर म तिमीलाई भेट्न आउँला। करिब ६.०० बजे बेलुकी तिर उनको फोन आयो अनी बालाजु चोकमा आउन उनले भनिन। मुसालधारे पानी परिरहेको थियो तैपनी म उनीलाई भेट्न लागे बालाजु चोक तिर।
म स्वयम्भु यातायातको बसबाट बालाजु चोकमा झरे, उनै मेरै प्रतिक्षामा बसिरहेकी थीइन। त्यो दिन खाजा पनि खाएको थीइन मैले त्यसैले अली अली भोक लागिरहेको थियो नजिकैको एउटा रेष्टुरेन्टमा गएर म म खायौ। उनीले मलाई जेल अनी बिस्कुट आदि उपहार दीईन,फेरी उनीले सोधिन निर्णय गर्नु भो त? १ हप्ता बितिसकेको थियो हामी बीच कुनै कुराकानी हुन पाएको थिएन यसबिच मैले एउटा संयोगको रुपमा लिन थालिसकेको थिए यी घटनालाई त्यसैले पनि धेरै सोचिन यो १ हप्ता बीचको समयमा उनको प्रश्नको बारे। उनको पुन: दोहरिएको प्रश्नले मलाइ फेरि झकझकायो हामी रेष्टुरेन्टबाट बाहिरियौ। मैले उनको पारिवारिक स्थिती बारे सोधे- आफु सानै छदा आमा बितिसक्नु भएको,आफु पट्टीका २ दाजुहरु बिबाहा पश्चात छुट्टै बस्न थालेका,बाबाले अर्कै बिबाहा गर्नु भएको इत्यादी । मैले उनको शैक्षिक स्तर सोधे एस. एल. सी. पास गरेको त्यसपछी पढ्न नसकेको, फेरि मैले सोधे के गर्छौ त काठमान्डौमा? ब्युटिपार्लरमा काम गर्छु कलंकीमा। साझ झमक्क परिसकेको थियो तापनि मैले भने तिम्रो कोठा यतै कता भनेको होईन मलाई पनि चिनाउ न त कहाँ बस्छौ? तर उनी निरुत्तरित भइन मैले कुनै जोड गरिन। यदि तिम्रो क्याम्पस पढ्ने इच्छा नै छ भने तिम्रो एस एल सी पास को प्रमाणपत्र लिएर आउ म बिचार गरुला भने उनले हुन्छ भनिन अनी म उनिसग बिदा भएर पुन: डेरामा फर्किए। यसपटक मेरा मनले रहस्यमय उनको व्यबहारको अझै नजिकैबाट नियालेको अनुभुती गर्‍यो।
केही दिन फेरि उनी बेपत्ता भइन। त्यस्तै २-३ दिन पछि उनको फोन आयो यसपटक उनी नेपलागन्ज जान लागेको र केही पैसाको आबश्यकता परेको गुनासो गर्दै थीइन, म सग पैसा सापटी माग्दै थीइन। मैले सोधे कति पैसा? २000 रुपैयाँ। म त्यतीबेला बिद्यालयमै थिए, म ब्यस्थ पनि थिए त्यसैले मैले अहिले म ब्यस्थ छु मलाई ४.00 जे पछि फोन गर्नु भनेर फोन काटे।
नभन्दै ४.00 बजे उनले फोन गरिन र आफु भगवानपाउ म आउँदै गरेको अनी मलाई पनि त्यहि आउन भनिन म कुनै आज्ञाकारी बिद्यार्थी जस्तै बनेर हुन्छ भने। ४.१५ तिर म त्यहा पुगे अनी उनीले पहिले फोनमा बताएको कुरा पुन दोर्हाइन,यसपटक मलाई माया गर्नु हुन्छ भन्ने प्रश्न थिएन।मैले खल्ती बाट १३00 रुपैयाँ निकालेर उनीलाई दिए अनी उनको शुभयात्राको कामना गरे। उनीले पैसा चाडैनै फिर्ता गर्ने वाचा गरिन तर मलाइ बिश्वास थियो त्यो पैसा फिर्ता हुनेछैन। थाहा हुँदाहुदै पनि मैले उनीलाई एउटा सहयोगको रुपमा पैसा दिएको थिए।त्यस्तै १0 मिनेटको भगवान पाऊँको बुद्धको मुर्तीको आडमा बसिरहदा उनका नयनहरु बर्षिरहेका थिए शायद उनी क्षमा याचना गर्दै म प्रति क्रितज्ञता दर्शाउदै थिइन यस्तै अनुभुती मैले गरे।
त्यस दिन पश्चात न उनीले मलाइ फोन गरिन, न कुनै संयोगले आजको मितिसम्म भेट हुन सकेको छ तर उनले छोडेको यी स्म्रितीहरु भने मेरा मस्तिष्कमा अझै ताजै छन, मेरो जिन्दगीले धेरै छलाङ मारी सकेको छ,म अरुकै नासो भैसकेको छु। थाहा छैन उनी कहाँ,के,कुन अबस्थामा यी दिनहरु गुजार्दै छिन तर जहाँ जसरी तिमी रहे पनि भगवानले तिम्रो सधैं कल्याण गरुन।

                            इती


 












Comments

Popular posts from this blog

गजल : निल्नु न ओकल्नुको...

फर्कदै छु