Sunday, December 11, 2011

केही हाइकु

आजभोलि यता मन बरालिदै छ। सिकारु हो हजुर गल्ति भुल भए क्षमा पाऊँ। हजुरहरु को न्यानो मायामा हुर्काने बाताबरण मिलोस।

पिंजडा भित्र
नजरबन्दी आशा
नयाँ नेपाल!

झ्याउकिरीले
दिउसै रात पारे
बिना सूचना!

ज्यान हाजिर
मनमा ताल्चा ठोकी
तिम्रो खुशिमा!

मन्द मुस्कान
अश्रुले नयन भिजे
निचोरी मुटु!

गोधुली साँझ
हिक्क हिक्क बाडुल्की
सम्झना तिम्रै !

शान्तिको नारा
बारुदको भट्टिमा
हिंस्रक मन!

खाएर टन्न
खोलभित्र लुक्छन
झुसिलकिरा!

उड्दै जाने भो
बत्तिको वरिपरि
प्राण पखेरु!

वैंशको फूल
जोगाएर राख है
पापी भमरा!

गन्तब्य टाढा
यात्राको साथी तिमी
फुरुङ्ग मन!





Saturday, November 26, 2011

हाइकु


नाङ्गा रुखले
भने शिशिर छायो
उदासी मन!

अधुरै रहे
मनका यी रहर
बेइमानी म !

टेक्न नमिल्ने
समयको हुरीले
भाँचेको लौरी!

सुर्य छेकेर
बादल छाम्दै होला
मेरो तागत!







Tuesday, November 22, 2011

गजल

साँच्चै अहिले ब्लग,फेसबूक जस्ता सामाजिक सन्जालको सहयोगले गर्दा नेपाली गजल बिधाले अग्रगामी परिवर्तनको सिमारेखा कोरिसकेको छ। मानौ देश नै गजलमय भएको छ,हामिहरु सबै गजल प्रेमी भएका छौ,साहित्य सिर्जना प्रति अलिकति रुची राख्ने जो कोहिले पनि गजल लेख्न प्रयास गरेमा यसका सामान्य नियमहरुको सजिलै सहयोग लिन सक्छन यी सामाजिक सन्जालहरु भित्र छिरेर। २०५९/६० तिर हो नेपाली साहित्य जगतमा गजल बिधाले आफ्नो जरा गाढी सकेको भएपनि उचित मात्रामा फस्टाएर फूल्ने फल्ने अबसर भने पाइसकेको थिएन। क्याम्पसमा आयोजना हुने केही कार्यक्रमहरुमा गजलको नाममा केही साथिहरुले आफ्ना रचनाहरु बाचन गर्थे,मेरो यो चन्चले मन हो त्यही साथीहरु को गजलहरुमा निकै उत्सुकताका साथ उफ्रिदै पुगेर धेरै बेर त्यहि अलमलिन्थ्यो। मलाइ पनि केही लेखु लेखु भैरहन्थ्यो अनी म पनि लेख्थे गजलका नाममा यति थाहा थियो कम्तिमा ४ शेरको हुनुपर्छ गजल अरु यसका नियम परिधीको बारेमा केही थाहा थिएन हो त्यहि बेला को मेरो रचना हो डायरिको पाना भित्र कति खादेर राख्नु त्यसैले केही परिमार्जन नगरी प्रस्तुत गरे। गजल धेरै दृष्‍टिकोणले हुन नसकेको भएपनि पनि गजल नै भनेर प्रस्तुत गरे। हृदयदेखी माफि चाहन्छु सम्पुर्ण सर्जक र गजल प्रेमी मित्रहरुसग यो काँचो सिर्जनाको लागि।


रोज एउटी मलाई भने उ तीनलाई मैले छान्छु
नमानेर के हुन्छ र हात समाइ तान्छु तान्छु

एकपटक माया दिई हेर मलाइ पनि
फुकाउनै नमिल्ने गाँठागुठी पारी बान्छु

तिम्रो साथ पाउन जे पनि म गर्न सक्छु
जे जे भन्छौ तिमी अबदेखी त्यहि मान्छु

जालझेल होईन साँचो माया लाउने हो नी
अर्कै भए छ भन खोज्न म'नी अन्तै जान्छु

तिम्रै हुन्छु सातै जूनी भन्छौ भने पनि
यसपाली लगन छैन आघौ साल त लान्छु







.

Saturday, November 12, 2011

बस्ती नबसाउ

यहाँको चलन नै यस्तै छ
तिमी नरिसाउ
म भत्किएको चौतारी माथी
भारी नबिसाउ
डुबिसकेको घाम म
प्रकाशको आशा नगर
अस्ताएको जुन म
शितलाताको आभाष नगर
ओइलाएको फुल माथी
भमरा बनी डुल्न नआउ
सुकिसकेको मुल छेउ
प्यास मेट्न भन्दै नधाउ
शिशिरको उजाड भित्र
छहारी खोज्दै नधाउ
मरिसकेको लास बचाउन
डक्टर खोज्न नजाउ
अन्यायमा म आफै छु
न्याय खोज्न नआउ
लंगडो छु म आफै
साहारा खोज्न नआउ
क्षितिज पारीको कल्पना म
चुम्न नखोज
मेरा खोक्रा आदर्शका
बाटा नरोज
एक थोपा पानी म
पिएर नसिध्याउ
म त बिषालु साप
त्यसैले नजिस्काउ
म भत्किएको महल
बस्ती नबसाउ!
बस्ती नबसाउ!!









Saturday, October 29, 2011

जूनी भरीलाई

अथाहा अथाहा प्यार मेरो जूनी भरीलाई
अबिरल मायाका छालहरु जूनी भरीलाई
असंख्यौ प्रगतिका बधाई जूनी भरीलाई
असिमित सम्झनाका लहर जूनी भरीलाई

मृत्‍युको डोली नचढेसम्म मेरी प्यारीलाई
अनमोल हाँसोका सौगातहरु जूनी भरीलाई
जूनले भन्दा बढी शितल दिने छहारीलाई
समर्पण गर्दछु यो ज्यान जूनी भरीलाई

सगै जिउने सगै मर्ने मेरो जिन्दगीलाई
तारा भन्दा धेरै माया जूनी भरीलाई
आकाश भन्दा फराकिलो हिर्दय दिनेलाई
सागर भन्दा गहिरो माया जूनी भरीलाई

औंशीको रातमा उज्यालो छरी दिनेलाई
आस्थाको दिंयो सधैं बाली दिनेलाई
समर्पित हुन्छु म त जूनी भरीलाई
आगाध स्नेह दीइरहन्छु जूनी भरीलाई





Monday, October 17, 2011

बदलिएका मनहरु

I love walking on the rain'cause no one knows i am crying 'लेखिएका हरफहरुको पछाडि आफ्नो अनुहार छोपिएको धमिलो आक्रिती लिएर फेसबूकको भित्तामा अन्लाईन मा देखियो उ। हाम्रो मित्रताको डोरी २०५७ तिर पश्चिमाञ्चल इन्जिनियरिङ क्याम्पस पोखरा पढ्दा देखि नै कसिएको हो। त्यतिबेला किन किन जब म उसलाई आफ्नो अगाडी पाउथे म भित्र अचम्मको साहास भरिएर आउथ्यो। राजनितिक बिचारमा समानता,अन्यायका बिरुद्ध बोलिने आवाज यी इत्यादिमा हाम्रो समान द्रिष्टीले पनि अझ हाम्रो प्रगाढ मित्रता माथी अरु इटा थप्ने काम गरेको थियो ।
२०५७ को स्व वी यु निर्वाचन देखि लिएर अनेकौ राजनितिक र सांगठनिक कार्यक्रममा हाम्रो सहभागिता सगसगै हुन्थ्यो। क्याम्पस भित्र गाईगुइ गुणगान सुनिन्थ्यो म जस्तै धेरै विद्यार्थीका आदर्शका पात्र बनेको थियो उ,छात्रबासभित्र हुने गरेका दंगाफसाद, लुटपाट बिरुद्ध २०५६ को तीज को दिन स्थानिय गुण्डाहरुसग भएको झडप र ती गुण्डाहरुसग डटेर सामाना गरि स्थानिय गुण्डाहरुलाई परास्थ गर्ने एउटा प्रेरणाको स्रोत थियो उ। साच्चै मलाइ उ प्रति गर्ब लाग्थ्यो,साथीहरुको गुणगान प्रति इर्श्या पनि जाग्थ्यो अली अली।बोलीमा खरो,बिचारमा अडिक अनी निडर स्वाभाब धेरै उ देखि डराउथे भने त्यो भन्दा धेरैले मायाको भाब दर्शाउथे। होलेरी काण्ड पछि गिरिजा प्रसाद कोइरालाले सेनाले असहयोग गरेको भन्दै प्रधानमन्त्री पदबाट राजिनामा गरेपछी नेकपा माओवादीले युद्धबिश्राम गरि देउवासरकार सग बार्ता थालेको समय थियो हामि माओबादिका बिचारसग नजिक थियौ त्यसैले पनि युद्ध बिसर्जनका बेला पार्टीले आयोजना गरेको सान ठुला कोणसभा देखि लिएर आमसभा सम्म हाम्रो बाक्लै उपस्थिती हुन्थ्यो।। प्राय हाम्रो क्याम्पस को जिम्मेवारी सम्हाल्नेमा उ नै अग्रपङ्तिमा देखिन्थ्यो। चाहे त्यो पोखराको अमरसिंह चोक नजिक को आमसभा होस वा चितवनको भरतपुरको आमसभा पढ्न छोडेर भएपनि हामि पोखरा देखि पुगेकै हुन्थ्यौ।
समय बदलियो एकाएक युद्धबिश्राम भंग भएको घोषणा सगै मङ्सिर ८ मा दाङ घोराही ब्यारेक अनी स्याङजाका पुतलिबजार स्थित जिल्ला प्रहरी कार्यालय जनमुक्ती सेनाहरु बाट ब्यापक आक्रमण भयो, ठुलो संख्यामा हातहतियार आफ्नो कब्जामा लिए। राज्य तर्फ जन धन को ठुलै क्षति भयो। मंसिर ११ मा देशभर संकटकालको घोषणा गर्दै ब्यापक सेना परिचालन गरियो। पोखराको मुख्य तारो हाम्रो क्याम्पस बनेको थियो, जेष्ठ १९ को दरबार हत्याकाण्ड बिरुद्ध ज्वारभाटा उठानको केन्द्रबिन्दु थियो हाम्रो क्याम्पस ।मलाई आज पनि सम्झना छ प्रहरीले फालेको अश्रु ग्याँसको सेल म नजिकै खस्दा सहन नसकी स्थानिय बसिन्दाले भैंसीलाई पकाइ राखेको कुडो भित्र मुख गाड्नु परेको अनी क्याम्पस को पर्खाल माथीको काडेतार नाघेको पल।
संकटकाल को घोषणा सगै ३.00 बजे बिहान तिर क्याम्पसको छात्रबास प्रहरी र सेनाले छापा मारी धरपकड शुरु गर्‍यो। छात्राबासको ५ Block मध्य हामि बसेको E-Block मात्रै target भित्र रहेछ त्यसैले E-blockमा बस्ने सम्पुर्ण साथिहरुलाई नियन्त्रणमा लीइयो त्यहि भिडभित्र उ पनि थियो। हामि ६५ जना विद्यार्थीलाई २ ट्रक भित्र हालेर सिधै सशस्त्र प्रहरीको तालिम केन्द्र लेकसाइडमा लगियो। झिसमिसे उज्यालो हुँदै थियो हामि सबै साथिहरुलाई एउटा लामो टहराभित्र राखियो,दिश पिसाब गर्न जादा पनि २ जना प्रहरी थ्री नट थ्री बोकेर अघि पछि लाग्थे। दिउसो २.०० बजे तिर उसिनेको बन्दा र १ प्लेट चिउरा हामि सबैलाई दिए बेलुकी ५.०० बजेतिर सोधपुछ शुरु भयो। धेरै साथिहरु सोधपुछ पछि छुट्नु भयो। केही निर्दोष साथिहरु भने प्रहरीको फन्दा भित्र परे भने राज्यको नजरमा अभियुक्त ठहरिएका केही साथिहरु भाग्यबास छुटे पनि। तर म क्याम्पस इकाइ कमिटीमा रहेको अनी उ जिल्ला कमिटीको सदस्य हामिलाई पहिलेनै विश्वाश थियो हामिलाई छोड्ने छैन। करिब ७.३० तिर सोध पुछ समाप्ती भए पछि हामि १४ जनालाई भने पुन: त्यहि राखियो। त्यो चिसो रात बिना ओढ्ने ओछ्याउने गुडुल्किएर सुतेको झै गरियो मन भारी त्रास बोकेर। राती प्रहरीको गस्ती टोली आउथ्यो हामिलाई राखेको कोठा भित्र चाहार्थे,ढोकामा सेन्ट्री बसेको थियो प्रहरी बेला बेलामा आएर हामिलाई सम्झाउथ्यो यस्तै हो देश को स्थिति बदलिएको छ कुनै पनि बेला जस्तोसुकै परिस्थिती आउन सक्छ। उसले कताबाट हो खोजेर केही कम्मल ओढ्नको लागि ल्याइदियो साँच्चै त्यो प्रहरी अरुभन्दा भिन्न प्रकारको थियो उसको हाकिमको जोखीम मोलेर हामिलाई जाडोबाट जोगाएको थियो। निकै कष्टका बाबजुत हामिले त्यो रात काटेउ भोलिपल्ट करिब १.०० बजेतिर हामिलाई प्रहरीको गाडिमा हालेर जिल्ला प्रहरी कार्यालयमा लगियो।
क्रमश:







Saturday, August 20, 2011

गजल

नियमको परिधी,गजलका मुल्य मान्यताबाट म निकै अनभिज्ञ छु यति हुँदा हुँदै पनि मनभित्र गुम्सिएर पाकेका मेरा गुनासाहरुलाई शब्दहारहरुमा बुन्न मन लाग्छ गजलको नाममा। मेरा भाबनाहरु पोखिन्छन छताछुल्ल भएर म आनन्दताको अनुभुती गर्छु यसको मतलब सष्ट्राहरुका भाब,छन्द,लयले सजिएका सुन्दर गजलहरुलाई अन्याय भने गरेको होईन बरु म पनि हजुरहरुद्वरा सिर्जित गजलहरुको उचाइभित्र छाँयाबत हुँदै शितलताको आभाष लिन खोज्दै छु।


देखाउनलाई हाँस्छु बाहिर मनभरी रुन्छु
खै के भनु कसलाई यहाँ धरधरी रुन्छु

बिर्सु भन्छु यादको बाढी उर्लिएर आउछ
सम्झिएर आफ्नै अतित घरिघरी रुन्छु

कहीलेकाही एक्कासी श्वासै बन्द हुन्छ
मुटुभित्र गाँठो पर्छ मरिमरी रुन्छु

कहाँ जाने?के गर्ने? गन्तब्य हिन भाछु
तिम्रो साथ बिना आज खोलितरी रुन्छु

आँखाभरी छाइदिन्छौ क्षणमै ओझेल पर्छौ
बिष्फोट हुँदै आफैभित्र पागलसरी रुन्छु







.

Sunday, August 14, 2011

शान्तिको युगिन गीत गाउला

२०५९/६० तिरको रचना हो मेरो, डायरिको पानामा मात्र कति सजाएर राख्नु त्यसैले पस्किए हजुरहरुसामु प्रबिधी को यो सुलभता उपयोग गर्दै स्विकार्नुस!


मेरि प्रियतमा झन्डै
दशक बित्न लागिसक्यो
तिम्रो र मेरो भेट नभएको पनि
माथी डाँडाको चौतारी
गत सालको हुरीले ढाल्यो
बाटो मुनिको पधेरो
यसपालीको खडेरीले सुक्यो
हाम्रो प्रेमको निशानीले
दशौ बशन्त पार गर्नै लाग्यो
तर किन तिमी फर्केनौ?
म भित्र तिमी फर्कने
झिनो आशा पलाएको छ
त्यसैले,
अबत फर्क मेरि प्रियतमा
अतितका दर्दिला घाऊहरुमा मलम लगाएर
बिना डर बिना संकोच
गलामा गला जोडेर
शान्तिको युगिन गीत गाउला!

आज तिम्रै तिर
कोलाहाल मच्चेको छ रे
हिजो लादेनको घर पोलियो
आज सद्धामका बस्तीहरुमा
आगो सल्काइदै छ रे
त्यसैले फर्क मेरी प्रियतमा
धुवाको मुस्लोले सगर कालो भएको बेला
मान्छेका रगतले सागर राताम्मै भएको बेला
गलामा गला जोडेर
शान्तिको युगिन गीत गाउला!!

आँखा बन्द भएको बेला
आफ्नो भन्ने कोहि नभएको यो घडिमा
आकाश फुट्दै छ
धर्ति भासिदै छ
विश्वाश टुटेको समय
कर्तब्य भुलेको यो पल
आफ्नै घर जलिरहेको बेला
आस्था ढलेको बेला
म कति कमजोर भएको छु
त्यसैले,
तिमी र म मिलेर एउटा सानो कुर्वानी गर्न
धर्ति र आकाश जोड्न
समतामुलक समाज निर्माण गर्न
फर्क न फर्क मेरि प्रियतमा
गलामा गला जोडेर
शान्तिको युगिन गीत गाउला!!!



Tuesday, July 19, 2011

झरी परिरह्यो

धेरै दिन पछि कालो बादलको पर्दाले आकाश कैद भएको छ। धर्ति अधेरिएको छ। बाहिर सिम सिम पानी पर्न थालेको छ। पर पर देखि समुन्द्रको छाल किनार चुम्न उत्ताउलो पाराले हुत्तिरहेका छन म झ्यालको पर्दा खोल्छु गर्मीले उकुशमुकुश भएर चाउरिएको मेरो अनुहारलाई हावाको एक सप्काले स्पर्श गरेर जान्छ म शितलताको अनुभुती गर्छु। बेडमा पल्टन्छु सिलिङमा गएर मेरा नजरहरु ठोक्किन्छन मनमनै सोच्छु मेरा नजरहरु जस्तै मेरो मन किन ब्रेक लाग्दैन कहिल्यै? एकाएक मेरा अगाडी दशक अगाडीको घटनाक्रमहरु यो पछि त्यो वा त्यो पछि यो शिलशिला बिग्रिएर भएपनि उभिन थाले।
आकाश निर्मल थियो भाद्रको महिना पनि कतै बादलका धब्बाहरु देखिएका थिएनन, मन उमंगले फुलेको थियो जताततै खुशि मात्र अह मलाई नै थाहा थिएन किन म हर्षित थिए।
एस. एल. सी. को परिणाम पछि इन्जिनियरिङ क्याम्पसको अध्ययनको शिलशिलामा पश्चिमाञ्चल इन्जिनियरिङ क्याम्पस पोखरामा भर्ना भएर दशैं तिहार पछि मात्र पढ्न जाने सोचमा घरतिरै बस्थे। म सबैसग थोरै बोल्छु त्यसैले पनि होला जो सग बोले पनि लजाएर बोलेजस्तो आभाष मलाइ हुन्छ। त्यसै समयमा मेरो परिचय एउटा केटिसग हुनपुग्यो। हुन त भौतिकताको हिसाबमा उनी त्यति टाढाको त थीइनन तापनि म सगको उनको यो बोली भनि पक्कै पनि पहिलो पटकको नै थियो। केही क्षणको भलाकुसारी अनी केही बेर को देखभेटले म भित्र अनौठो किसीमको उन्माद भरेको थियो,मलाई उनिप्रती आकर्षित गरेको थियो। शारिरिक रुपमा सुन्दर उनी त्यसमाथी बोली चालीको मिठास म भित्र क्षणभरमा अमिट छाप बसिसकेको थियो। मेरो फुर्सदको समय,चाडबाडको नजिकाइले गर्दा बिद्यालय बन्दले उनी पनि फुर्सदी त्यसपछी दिनानु दिनको भेटघाटले हामिबिच आत्मियता बढाएको थियो। यसैबिच १ महिनाको लामो समय समाप्तिसगै म आफ्नो अध्ययनकोलागी पोखरातर्फ लागे।
म सानै उमेर देखि घरबाट टाढा रहेर पढेको कारण घर कम जाने बानी परिसकेको थियो त्यसैले पनि अब उनिसगको भेटघाट कम हुने कुरा अस्वभाबिक थिएन तर म उनलाई जतिखेर पनि आफ्नै समिपमा पाइरह्न्थे,कल्पनाको तरङगहरुमा भेटिरहन्थे। भन्छन् नी कल्पनाभित्र पनि यथार्थता लुकेको हुन्छ त्यस्तै मेरो कल्पना भित्र पनि केही सत्यताको आभाष भएको म पाउथे।
समय पनि कति चाँडो बित्दोरहेछ १ बर्ष बितिसकेछ यसै क्रममा २०५८ सालको दशैं पनि नजिकिदै थियो। म पनि बिजया दशमीको लागि घरतिर लागे। बिंजया दशमीको पावन अबसरसगै यसपटक आफुभित्र बर्षौ देखि उर्लिएकोको भावनाका अन्तरंगहरुलाई उनिसामु पुर्‍याउनु पनि थियो मलाई। मन भित्र पलाएको बसन्ती मुनालाई बढ्ने बातावरण सिर्जना गर्नु थियो त्यसैले greeting card मार्फत दशैंको शुभकामना र मन भित्र उकुशमुकुश बनिरहेको एउटा कुरा व्यक्त गर्न चाहन्थे तर अपसोच मेरा सम्पुर्ण ईच्छाहरुलाई दम्मित गर्दै उनिसग रहस्यको गाठो फुकाउन म असमर्थ भए। म आफैले आफुलाई लाहाचार लाक्षी सम्झिरहे। मनको कुरो उनिसग साट्न नपाएर के भो र? म भित्र भने उनको स्‍मृति झन झन प्रगाढिडै थियो यतिसम्म की उनलाई स्मरण गर्दा मात्र पनि म अशिम अल्हादित बनेर फुलिरहन्थे।
जब दशैं तिहार सकाएर म आफ्नो पढाइको शिलशिलामा पुन: पोखरा फर्किए तब मेरो जीवनमा कालरात्रीको प्रबेश भयो। सोच्दै नसोचेका घटनाक्रमले जिन्दगीलाई आक्रान्त बनाए। देशको तात्कालिन राजनितिक परिस्थितीको शिकार म पनि भए। एउटा फक्रिदै गरेको फूलमाथी राजनीतिको रंग दिएर पूर्ण रुपमा फुल्न नपाउदै चुडेर फाल्ने हर्कतहरु भए। राज्यले अधिकार र समानताको खोजी गर्ने एउटा आफ्नो नागरिकलाई आतंककारीको बिल्ला भिराउदै, देशद्रोहीको आलंकार टक्राउदै यातनाका कोसेलीहरु उपहारको रुपमा थमथमायो। ५ महिने लामो जेलका चिसा सिढिहरुमा भएग्रस्त रुपमा बाँच्न बिबस बनायो। आफ्नै भाग्यलाई धिक्कारिरहे भाबीले लेखेको कुरा कहाँ टार्न सकिन्छ र चित्त बुझाउने बाटो यहि मात्र थियो। मृत्‍युसग डर लाग्न छोडिसकेको थियो। एक्लै छात्ती फुलाएर गर्ब गर्थे आफैसग भन्थे- मेरो देश र जनताको प्रगती र परिवर्तनको खातिर म मर्नु पर्छ भने किन पछाडि भाग्ने? म हाँसेर हत्केलामा जीवन चढाउन सक्छु।
आकाशको कुनै कुनाबाट अचानक कालो बादलको धब्बाहरु जोडसाथ हुरिदै अगाडी बढिरहेको थियो,कमिला हिडेर तर्न सक्ने खोलामा पनि मङसिरमासमा तर्न नसक्क्ने गरि बाढी उर्लेर आउँदै थियो,भबिश्यमा हिड्ने सम्पुर्ण बाटाहरु एक पछि अर्को आँखा अगाडी पैरदै थिए। साँच्चै जिन्दगीमा एउटा तुफान आउँदै थियो जसको झोक्काले मलाइ दुर दुर हुत्ताउदै थियो। क्षितिज पारीको बस्तीहरु उजाड बनाउदै थियो,कोलाहलमय बस्तीहरु भित्र चित्कार नै चित्कारको आवाजहरु गुन्जायमान बन्दै थियो। यहाँ सबै डाको छोडेर रुदै थिए त्यसैले कसको चिच्चाहट कसले सुन्ने? कसैको पिडा र बेदना सुन्ने फुर्सद यहाँ कसलाई? यस्तो भयाबह अवस्थाको कहालिलाग्दो परिस्थितीले मेरो जीवनलाई अनायस रुपमा गाजिरहेको थियो। मेरो यस दुखद घडिमा मेरा आफन्ताहरु सामु उनले दुई थोपा आँशु चुहाएर सहानुभुति प्रकट गरिन रे। अनी जनयुद्धको महान योद्धा बनेर समाज बदल्ने उनको सपना माथी पुनर्बिचार गरिन रे। कम्तिमा मेरा दु:खले उनले आफू हिंड्न लागेका बाटाहरु सहि वा गलत के हो भनेर मुल्याङ्कन गर्ने अबसर त पाइन यहि नै जिन्दगिसगको मेरो जित थियो भने अर्को पाटोमा लक्ष्यसगको लज्जास्पद हार जुन म स्मरण गर्न पनि चाहन्न यो जिन्दगिभर।
जब नब बर्ष २०५९ आगमन भयो यसले नयाँ सुनौला किरणहरु मेरो जिन्दगिमाथी पनि छर्न थाल्यो। २०५९ वैशाख ३----- धन्य यो नै मेरो जिन्दगीको संजिवनी बनेर आयो,मेरो प्राणमुर्ती साबित भयो। जिन्दगिसग हारिसकेको लडाइ पुन: जित्ने आशाका साथ कालो अन्धाकारमय रातको बिदाइ गर्दै पुर्बी क्षितिजमा सुनौला आशाका किरणहरु उदायमान भए। पहिलेकै जस्तो स्वतन्त्र वाताबरणमा पुन: आफूलाई समाहित गर्न पाए।
२०५९ वैशाख १० गते जब म घर पुगे म भित्र खुशिका असिमित सिमारेखाहरु कोरिएका थिए। सबै आफ्ना चिर परिचित मित्र,मान्यजन,भाइ,बहिनी सबैलाई भेटे तर उनलाई भने भेटिन किनभने अब त उनी पनि एस एल सी परिक्षा सकेर काठमाडौं तिर लागिसकेकी रहिछन। जसले मेरो दु:खमा दुई थोपा आँशुको सहानुभुति प्रकट गरेको थियो उनलाई एउटा सानो आरामी स्नेहको पत्र कोरेर एउटा साथिलाई दिन भनि छोडे। आज सम्म म अनभिज्ञ छु उनले त्यो पत्र पाइन वा पाइनन।
निर्दिष्ट पथमा अघि बढ्ने क्रममा म पनि पोखरा छोडेर काठमान्डौमा रहन थाले तर १५-१५ दिनको फरकमा जिल्ला प्रशाशन कार्यालय पोखरामा तारेखमा धाउनु पर्थ्यो। ५ पटक सम्म त तारेखमा सामेल भए तर पछिल्ला तारेखमा भने म सामेल भइन किनकी धादिङ देखि पोखरा सम्म १ सहिछाप गर्न भनेर १५-१५ दिनमा जानु आर्थिक हिसाब अनी मनोबैज्ञानिक हिसाबले पनि कठिन थियो भने अर्को तिर तारेखको औचित्य शुन्य थियो।
२०५९ गाईजात्राको दिन क्याम्पसबाट पठाएँको चिठ्ठी लिन भनि म र मेरो भाइ उनको कोठातिर अघि बढ्यौ। मलाइ उनको ठेगाना पनि थाहा थिएन त्यसैले पनि भाईको साथमा उनिसामु पुग्नु पर्ने थियो। कोठा भन्दा अलिक परैबाट भाईले घर चिनाइएका थिए। कोठा भन्दा अलिक टाढैबाट मैले उनलाई देख्दै थिए म भित्र त्यो क्षण निकै खुशि आभाष भएको थियो भने अर्कोतिर अली अली लाजको पनि महशुश भएको थियो। हुन त क्याम्पसको चिठ्ठीमा परिक्षाको लागि बोलाइएको थियो भने थाहा मलाइ थियो तर पनि मेरो उधेश्य चिठ्ठी लिने बहानामा उनीलाई भेट्ने नै थियो। २-३ घण्टाको बसाइमा सानातिन सुख दुखका कुरा भए त्यसपछि त हामिलाई पनि कोठामा फर्कनु पर्ने थियो। फेरि चाडै भेट्ने बाचाका साथ बिदाइको हात हल्लाउदै हामि टाढियौ उनको मुस्कान आँखाभित्र सजाएर।
२०५९ आश्विन अन्त्यतिरको कुरो हो सबै नेपालिका घर आँगनमा दशैंको चहल पहल बढ्दै थियो,सबै आफ्नो चाडपर्ब राम्रोसग मनाउन आ-आफ्नो क्षमता अनुसार ॠण लिएर होस् या कुनै मजबुरी गरेरै किन नहुस पैसा जम्मा गर्दै थिए।देश बिदेशमा रहेका नेपाली दाजु भाइ दिदि बहिनिहरु पनि घर फर्कदै थिए। देश चरम द्वन्दभित्र फसेको थियो तर पनि लाग्थ्यो यस सुखद क्षणमा कोहि दुखी छैन तर मेरो मन भने पूर्ण रुपमा खुशी थिएन। साथिभाइहरु सगै रहदा हाँस्ने अभिनय मात्र गर्थे तर यथार्थमा अद्रिश्य बनिरहन्थे मेरा खुशिहरु। निदनिमा देख्ने सपनि म दिनमै टोलाउदा टोलाउदै देखिरहन्थे। म कसैको प्रतिक्षामा नयनहरु दौडारिरहन्थे। यिनै कल्पनाहरुमा रमिरहदा सबैका घरहरु सिगारी सकेका थिए वातबरण अर्कै बनिसकेको थियो। म भित्र भने किन हो कुनै पनि कुराले प्रभुत्व जमाउन सकेको थिएन म एकोहोरो बनेको थिए मात्र मेरा त्रिषित नयनलाई उनको कोमल मुहारको एक द्रिश्य पान गराउन।जब मिर्मिरे उज्यालो उषाको निस्तब्ध हुस्सुलाई पन्छाउदै प्रिथिबी लोकमा प्रबेश गर्थिन मेरा लोभि नयन उनकै दोबाटोमा यता उता भौतारिरहन्थ्यो,दौडिरहन्थ्यो अनन्त अनन्तसम्म।
रगतको नाता भन्दा भाबनात्मक रुपमा गाँसिएको नाता प्रगाढ हुन्छ भन्थे। कस्तो अचम्म यो मर्त्यलोकको उपज प्रेम भन्ने शब्द कति प्रिय छ। साचो अर्थमा प्रेम जीवन हो अमिट,अबिस्मरणिय र आत्मिय नाता हो जुन जिन्दगीको आरोह अबरोहमा बिभिन्न यातना दु:ख सुख सबै बेहोर्न तयार हुन्छ। प्रेम जिवनको उत्प्रेरक हो। जति पवित्र र शक्तिशाली छ यो त्यतिनै भयानक बिनाशकारी पनि। यस्तै भाबनात्मक अन्तरंग भित्र सुन्दर सपना बटुल्दै प्रतिक्षाको घडिमा मिलेका अनुभबहरुको सगाँलो भित्र आफूलाई बिलिन गराउदै म ती दिनहरुमा जीवन स्वप्नको अत्रिप्त प्यास सगाल्दै कहीले रोइमात्र रहे भने कहीले हाँसिरहे मात्र।
समय आफ्नै रफ्तारमा अघि बढ्दै थियो कति कर्तब्य निष्ठ छ यो,कति कठोर छ यो न कसैलाई यसले पर्खन जानेको छ न कसैको पिडा नै बुझ्न। आज फूलपातीको दिन पक्कै पनि उनको आगमन हुन्छ। मेरो प्रतिक्षाको फल पाउने छु त्यसैले दिनभरी जस्तै मेरा लोभि नजर उनकै आगमनको बाटाहरु टोलाइरहे। टाढा टाढा आफ्नो दैनिकीमा गएका चराहरु गुडतिर फर्कन थाले,पश्चिमी क्षितिजमा घाम अस्ताउनै लागेको देखियो मात्र केही राता किरणहरु बाँकी थिए। सबैका घरमा टुकी सल्किसकेको थियो म भित्र भने नैराष्यताको घुरमहिलो वाताबरणले प्रबेश गरेको थियो किन हो किन औंशी पछिका पुर्णिमाका रातहरु भएपनि सधै देखिने अर्धचन्द्रकार चाँदनी आज मैले आकाशको कुनै कुनामा देखिन। ताराहरु उदाएको आभाष भएन म आफ्नो गहकिलो मनलाई बोकेर सोचाइको यात्रामा गन्तब्य रहित पाराले पागल सरी दौडिरहे।
शायद अन्जानमै मैले उनलाई एकतर्फी माया गर्न थालिसकेको थिए। एकतर्फी माया घातक हुन्छ भन्ने सुनेको थिए। म साच्चै चालक बिनाको बसको यात्री जस्तै बनेको थिए जसको दुर्घटना असम्भाबी छ पिजडाको चरी जस्तो बनेको थिए जसको आफ्नो स्वतन्त्र अस्तित्व हुदैन। बिछ्यौनामा पल्टिए सोचाइमा हराए। आँखाहरु उर्लिरहे,मुटु भक्कानिदै गड्गडाए। भन्छन् रोएपछी पिंडाहरु कम हुन्छ रे मनलाई सान्त्वना मिल्छ त्यसैले पनि रोए यदि त्यो रात अनमोल आँशुका गाथाहरु सगालेको भए म आफूलाई स्नान गर्न पुग्थ्यो होला। सिरानी भिजे तर शितलताको अनुभुती भएन। हेर्दा हेर्दै आँखा अगाडी सुन्दर सपनाको महल बग्यो अनी धेरै चोट खाँदै अन्तत सागरमा गएर मिल्यो। अनेकै तर्कना बीच निन्द्रा देबीको प्यारो काखमा कुन बेला पुगेछु पत्तो भएन।
खहरे उर्लेर के गर्नु बर्षात पछि सुक्नुपर्छ। बशन्तमा फूल फुलेर के गर्नु शिशिर लागेपछी झर्नु पर्छ। निदनिमा मिठो सपना देखेर के गर्नु ब्युझेपछी त्यसले मर्नु पर्छ तर यी सब नियम हुन जो जस्तो हुनुपर्ने हो त्यस्तै हुनुपर्छ बरु समयसगै आउने समस्याहरुको सहि तरिकाले सामाना गर्दै अगाडी बढ्न खोज्नु महान कार्य हो।जलेर आकुल ब्याकुल बनेको मनलाई सान्त्वनाका मीठा दर्शनहरुले थमथमाउदै चुपचाप बसिरहे भोलिको सुनौलो दिनको प्रतिक्षामा। हुन पनि उनीलाई प्रेमिका बनाउन खोज्नु,बर्षौसम्म आफ्ना कुराहरु भन्न नसक्नु अनी उनकै यादमा एक्लै छटपटिरहनु पागलपन भन्दा बढी केही थिएन। यी सब मेरा कल्पनामा उठेका भाबनाका तरङ्गहरु मात्र थिए जसरी एउटा पोखरिमा ढुङा फ्याक्दा उठ्छ अनी ती तरङ्गहरुले किनारालाई चुम्न पनि सक्छन नचुम्न पनि सक्छन त्यो त ढुङ्गा को प्रकृति हावाको बहकाइ,कती बल प्रयोग इत्यादी कुरामा भर पर्ने कुरा हुन्।
रातको अन्तिम प्रहर परेवाको घुराइसगै आफूलाई ब्युझाउदै जलिरहेको मुटुलाई चिस्याउन चिसो चिसो बतास पिउदै एउटा हातमा गाग्री अर्को हातमा लालटिन बोकी लागे पधेरीतिर किनकी आज अष्टमीको दिन थियो। मधुरो लालटिन जताततै उज्यालो छरेको थियो चराहरु चिरबिर चिर्बिर गर्दै उज्यालो दिनको स्वागत गरिरहेका थिए। अष्टमीको दिन सबै नुहाइ धुवाइमै ब्यस्थ थिए। अलिक भिड पनि थियो,झिसमिसे झ्यालो रम्रोसग मान्छे चिन्न पनि गार्हो थियो त्यहि भिडमा एउटा परिचित स्वर गुन्जायमान हुन्छ जसको प्रतिक्षामा म धेरै दिनदेखी तड्पिरहेको थिए। जसको एक दर्शन पाउन म कति लालायित थिए। त्यो पल म हर्षले बिष्फोटित बनेको थिए जस्तो एउटा बालक स्तन पान गर्दै आमाको काखमा रमाउछ। अह! किन? म आफैलाइ थाहा छैन।
पधेरीबाट सगै घर फर्कियौ बाटामा धेरै कुराकानी पनि भएन। मैले पहिले नै भनिसके म थोरै बोल्छु त्यसमा पनि एउटी केटिसग। यस्तैमा सामान्य वाताबरण बीचको छोटो यात्रा टुङ्गियो। जानु है भने उनी आफ्नो घरतिर लागिन भने म आफ्नो तिर। त्यस समय उनी यति सुन्दर थीइन् की कथाहरुमा सुनेको ३२ लक्षणले युक्त स्वर्गको परी जस्ती,मधु मालतीको कथाको मालती जस्ती। मलाइ त उनको अनुहार नै एउटा दर्पण जस्तो लाग्यो जसभित्र म आफ्नो प्रतिबिम्ब छर्लङ्ग पाउथे।
घामको सुनौलो किरणले आफ्नो प्रथम पाइला पोतिएको आँगनमाथी छरिसकेको थियो। आँगनको एउटा कुनामा अगेनुमाथी ठुलो खड्करोमा पानी उम्लिरहेको थियो। दाउराहरु आफ्नो कर्तब्य पालन गर्दै खरानिमा रुपान्तरित भएको प्रष्ट देखिन्थ्यो। एउटा सानो रशीले बर्षौसम्म स्नेहले पालिएको खशीलाई बाधिदै थियो। हतियार धारिलो बनाउन शान लगाइदै थियो। यी सब रमिता म पिढीको डिलमा बसेर हेरिरहेको थिए। मलाइ थाहा थियो अब केही बेर म यो खशीको हत्या गरिने छ अज्ञात देबीको पुजा गर्ने नाममा। म यो निर्दोष प्राणीको हत्या गर्न किन हामी आतुर छौ । यसले आफ्नो स्वतन्त्र अस्तित्वमा बाँच्न किन नपाउने? यसको पनि रगत मेरो जस्तै रातो नै छ। आखिर किन देबीको पुजा गर्ने नाममा यसले आफ्नो जीवन सुम्पनु पर्ने? म भित्र हिनता बोध भएर आयो। फेरि एकपटक उसलाई हेरे अह उ कति डराएको छैन मृत्‍युसग। हिजो जस्तो थियो आज पनि उ उस्तै छ। यसले पो बुझेको रहेछ जिन्दगीको वास्तविकता जिवनको अर्को पाटो मृत्‍यु पनि हो भनेर। अनी मैले सोचे हामी सबै रोएर जन्मेको मान्छेहरु भन्दा यो कति ज्ञानी रहेछ किनकी यसले हाँसेर मर्न त सिकेको छ। रोएर जन्मने अनी मृत्‍युसग पनि रोइ रोइ भाग्न खोज्ने यो कायर प्रब्रितीले मान्छेलाई कहीले नछोड्ने भो त्यसैले म गर्बले छाती फुलाएर भन्न सक्दिन म श्रेष्ठ प्राणी मानिस भनेर किनकी मैले जीवनको एउटा चक्र कहीले पूरा गर्न सकिन म रोएर जन्मे रोएरै मर्ने छु।
मलाइ महशुश हुन थाल्यो निर्दोष प्राणीको हत्या गरेर देबीको पुजा गर्ने कुरा अन्धबिश्वासको चाल्नामा हालेर केलाइएको एउटा खोक्रो,निक्रिष्ट आडम्बरी शब्द मात्र हो तर म बिबस भए उसको हत्यामा सामेल हुन एउटा कठोर राक्षस बनेर। यसै समय मैले सोचे जिन्दगी आखिर के नै छा र? जस्तो यसको मेरो पनि त्यस्तै त हो। खोलाको पानी जस्तै एकपटक बगेर गएपछी पुन: कहिल्यै नफर्कने।
अष्टमीको दिन बिहानको खाना पछि दिप ज्योती बाल क्लबले आयोजना गरेको सानो चेतनमुलक सास्क्रितिक कार्यक्रमको तयारीमा अन्य सहिर्दयी साथिहरुसग जुटे जहा मेरि मनकी रानीको पनि उपस्थिती थियो। कार्यक्रमको मध्यान्तरतिर प्रकाश पौडेलको आमा मलाइ त्यहि केटी चाहिन्छ........ भन्ने गीत पर्दा पछाडी बजिरहेको थियो। सुन्दा हाँसो उठ्दो रोमान्टिक गीत भए पनि म भित्र भने यसले मौनता थपेको थियो। मेरा पापी नजर उनैतिर हुत्तिरहे,मन उतै दौडिरह्यो मन मनै आफैसग भने आमा मलाइ पनि त्यहि केटी चाहिन्छ।
दिनहरु बित्दै गए,उनी पानी भर्न आउने बाटो मेरा परम मित्र भन्न पुगे। यसो बाटोमा उनी पानी भर्न आएको देखे भने पनि पनि केही क्षण अघि वा पछि पधेरामा पुग्न थाले।यती लामो समयको अन्तरालमा पनि मैले आफ्ना मनका केही कुरा उनी सामु पोख्न सकिन वा चाहिन किनकी मेरा मनका उच्छबासहरुले उनको कोमल मनभित्र डढेलो लाग्छकी भन्ने डरले मलाइ सधैं सताइरह्यो म कदापी यस्तो चाहदैनथे बरु त्यसको अलाबा मेरा भाबनाहरु मनभित्रै गुम्साएर म आँफै बिष्फोट हुन सक्थे। केही कुरा अप्रत्यक्ष रुपमा त बुझ्न सक्थे त्यसमा पनि म असफल भए किनकी म ग्रामिण परिबेशको जन्जिर भित्र थुनिएको पंक्षी न थिए सानो कुरा भेटाए भए कसैको जिन्दगी नै प्रबाहा नगरी तिललाई पहाड बनाएर छोड्छन त्यसैले मैले त्यो जोखीम पनि उठाउन चाहिन। उनिसग केही क्षण सगै रहन त मलाइ डर लाग्थ्यो शायद उनीलाई पनि धेरै कुराको त्रास थियो होला। मलाइ कुन रुपले हेर्थिन मलाइ अपसोच थिएन तर म उनीलाई प्रेम गर्थे केबल प्रेम।
के कसैलाई प्रेम गर्नु पाप हो? होईन अबश्य यदि चोखो आत्माले गरिन्छ भने तर क्षणिक आनन्दको लागि प्रेम गरेको बाहाना बनाइन्छ भने त्यो पाप होईन महापाप हो। अचम्मको छ यो मन जुन कुराको प्राप्ती असम्भब छ त्यहि बस्तुको यादमा पागल बनाउने जसलाई एउटा देबीको रुपमा पुजा गर्न मिल्छ उनलाई प्रेमिका बनाउने मिठो सपना देखाउने। यो मनको के कुरा गर्नु ३ लोक १४ भुबन निमेष भरमा डुल्छ,संसार सेकेण्ड भरमा उजाड बनाइदिन्छ तर मनको मात्र के दोष सहि चेतनाले मैले यसलाई उचाल्न नसक्नु पो कमजोरी हो। म उनीलाई प्राथनाको प्रेम् गर्छु नकी बासनाको।

समयको पावण्डिता चाहेर पनि रोक्न नसकिने । दु:ख छोटो भए पनि लामो जस्तो लाग्ने अनी खुशी लामो भएपनि क्षणभर जस्तो लाग्ने रहेछ।झन्डै १ महिनाको लामो समयले नेटो काट्दै थियो,मिलन पछिका बिछोडिने दिनहरु निम्तिदै थियो। दशैं तिहार पछि लगत्तै क्याम्पस खुल्ने भएकाले म भाइटिकाको भोलिपल्टै काठमाण्डौतिर लागे उनी भने केही दिन पछि मात्र फर्कने योजनामा थिइन । २ महिना बित्यो, जाडो बिदा शुरु भयो म घर फर्के अनी सुने गाउका सगीसाथीहरुबाट उनीले बिहे गरिछन आफ्नै मनले रोजेको केटासग। म झसङ्ग भए यी कुरा सुनिरहदा,मन अमिलो भएर आयो,थाहै नपाई नयन रसिलो हुँदै आँशु पोखिन थालेछन। मन सम्हाले जे भो राम्रै भो भनेर।

७ बर्ष पछि उनिसग पुन: भेट भयो २ छोरीको आमा बनिछन,सुन्दरतामा अझै निखारता आएछ। मुसुक्क हाँस्दै उनीले भनिन तपाईं त उस्तै हुनुहुदोरहेछ। प्रतिउत्तरमा मैले भए परिवर्तन हुने दिन अझै आएन यो जिन्दगीमा। छेउकै कुर्सी तानेर बस्न आग्रह गरिन। सन्चो बिसन्चो, कहाँ,के गरिदै छ यस्तै थोरै भलाकुसारी भयो छेउमा आएर सानी नानीले कोट्याउदै सोधिन मम्मी को हो?-'मामा' कति सजिलै उनले नयाँ साईनो बाधिदीइन। म चुपचाप उनीलाई हेरिरहे। दुबै जना मौन भयौ एकछिन त्यसपछि मैले बिदाइ मागे। खाना खाएर जान उनीले आग्रह गरिन भोको पेट भएपनि भरखर खाना खाएको बाहान बनाए। अब कहिले हुन्छ होला है फेरि हाम्रो भेट उनीले मुख खोलिन। संसार त्यति ठुलो छैन निता भेट अबश्य हुन्छ चाडै भलै समय,तिमी,म र हाम्रा गन्तब्य प्रिथक र परिवर्तनशिल किन नहोस। अहिलेलाई बिदाइ हात हल्लाउदै म टाढिए उही अतित उस्तै रुपमा फेरि बल्झाएर।
कसैले ढोका ढकढकाउदै थियो बिछ्छयौनाबाट उठेर ढोका खोले जुलिया ढोका अगाडी उभिदै भनि प्रबिण!मलाई ट्रेन स्टेशनसम्म छोडिदिन सक्छौ? मेरो १७:४५को ट्रेन छ। मैले ओके भने ड्रेसअप गरे झ्यालको पर्दा खोले झरी परि रहेको थियो।




.

Wednesday, June 29, 2011

कता कता?

रात छिप्पिदै छ
आकाशमा ताराहरु उदाएनन
आज हर्केले
मधुरो दिंप पनि सल्काएन
सल्काओस पनि कसरी?
धर्तीलाई कम्पन गराउने आधिबेहरी
उर्लिरहेको छ!
त्यसैबेला,
बाहिरबाट
उठ् ढोका खोल
ढोकामा ड्याङ्ग आवाज आउछ
हिड् अब हामिसग
के यी सब रातको आगमनले हो त?
अबश्य होईन!
एउटा प्रतिशोधको निक्रिष्ट उधाहरण
आस्थाको मुना निमोठी फाल्ने कुचेष्टा
मन भित्र धेरै त्रास
डराइ डराइ
लाग्छ पछि पछि
निरही पशु समान
उफ्!
बादल पारीको गाँउतिर
हजार कौतुहलता मनमा खेलाउदै
भोलि बिहानीले कस्तो दिन बोकेर आउँला?
निराश बन्छ जन्जिर भित्रको चरी जस्तै
हिनता बोध गर्छ लडाइ हारेको सिंपाही जस्तै
छटपटाउछ प्रसब पिडाले छटपटाएकी नारी जस्तै
पर,
नेपथ्यामा पनि कोहि रोइरहेको छ
उसलाइ पनि मलाइ जस्तै गरिएको होला
उसको पनि चित्कार सुन्ने कोहि छैनन होला
उ पनि परिस्थितीजन्य बाध्यताको शिकार न होला
यी आदि इत्यादी सोच्दै
गन्तब्य बिहिन यात्रामा
एक हुल बिबेक शुन्य भेडाहरुको
पछि लागि रह्यो - लागिरह्यो
कता कता?



Monday, June 06, 2011

प्यारी बिहानी

अन्धकारमय रातलाई बिदाइ गर्दै
सपनिलाई यथार्थतामा स्मरण गराउदै
घामको सुनौलो किरणहरु सगै
चराहरुको सुमधुर स्वरहरु सगै
सबैलाई ब्युझाउदै
नौलो दिनको शुरुवात बोकेर आउने
तिमी बिहानी
सबैमा उमंगको आशा बाड्दै
नयाँ जोश र जागर छर्दै
स्वर्णिम संसारको कल्पनामा
प्रज्वलित दींप सल्काउदै
जब तिम्रो आगमन हुन्छ
समस्त जगत
नतमस्तक भएर तिम्रो स्वागतार्थ
ताली पिटिरहेको हुन्छ
साँच्चै भन्ने हो भने
तिमी कति महान छौ
तिमी कति निडर छौ
किनकी तिम्रो आगमनमा
सम्पुर्णमा भय र त्रासको बाताबरण
समाप्ती भएर जान्छ
तिमी त आँखा हौ जसले संसार देखाइदिन्छ
तिमी सबैको साहारा हौ, खुशि हौ
त्यसैले तिम्रो अनुपस्थितिमा
एक पल पनि कोहि रमाउन सक्दैन
तिमी निश्चल छौ तिमी पवित्र छौ
तिमी भित्र समानताको समभाब छ
न्यायका प्रतिमुर्तीहरु छ
तिमिले कसैको बिगार गर्न जानेकी छैनौ
तिमी निष्कपट छौ,निर्दोष छौ
तिमी सबैको आँखाको नानी
सबैको भरोसाको केन्द्रबिन्दु
तिमी बिहानी प्यारी बिहानी







.

Wednesday, May 25, 2011

मैले रुन बिर्सीसकेको छु

म भाग्दै छु आफ्नै जिन्दगी देखि नमजासग लखेटिरहेको छ यो जिन्दगीको चोटहरुले। भाग्दा भाग्दा थकित बनेर प्रेम,यौन,सम्बन्ध सबै गौण लागिरहदा फेरि इश्वरले अन्याए गरे बाबालाई सदाको लागि हामिबाट चुडेर। साँच्चै सन २०११ ले जिन्दगीलाई जोड्नै नमिल्ने गरि च्यात्यो,टुहुरो बनायो अझै बाँकी छ हेर्दै जाउ के के गरेर कसरी अस्ताउला यो निर्दयी बर्ष।

धेरै दिन भयो ब्लगको भित्ता नपोतेको पनि लेख्ने बिषय बस्तु नभएर पनि होईन। धेरै कुरा मन भित्र हुदाहुदै पनि मनमा बिर्को लगाएर टुलुटुलु आफ्नै जिन्दगीको तमसा हेर्दै म कहीले भक्कानिएर रोए त कहीले पागलसरी खित्का छोडेर पेट बाउडिने गरी हाँसे पनि। धेरै पिडा हरु बीच पनि आज म अलिक खुशि नै छु किनकी करिब ५ बर्ष अगाडी हराएको डाएरी आज भेटिएको छ। बहिनि सुमित्रा श्रेष्ठलाई हिर्दयदेखी धन्यबाद सुरक्षित रुपमा डायरि राखेर फिर्ता गरिदिनु भएकोमा। १० बर्षे जनयुद्धले चरम उत्कर्ष लिदै गर्दा तत्कालिन देउवा सरकारले २०५८ मंसिर ११ मा संकटकाल घोषणा गरेपछी देशले रगतको होली खेलेको थियो यहि परिबेशलाई समेट्दै त्यसबेला मनमा लहरिने भाबनाका शब्दहारहरु जे जस्ता थिए मेरा सानो मनले जे सोच्यो,जे देखे मेरा निर्दोष नयनहरुले त्यसैलाई कबिताको रुप दिन खोजे स्विकार्नुस् यो सानो तितो कोसेलीका साथ साधुबाद सम्पुर्ण मित्रजन प्रति।

मैले रुन बिर्सीसकेको छु

हिजो ठुलो चट्याङको बर्जपातले
घरको भग्नाबशेष मात्रा बाँकी राख्द
आगनमा मृतलास रगतमा पौडिरहदा
म खित्का छोडेर हाँसिरहेको छु
किनभने मैले रुन बिर्सिसकेको छु


आमाले पिंडाको क्रन्दन सुनाउदा
मैले सुन्न सकेको छैन
म केही क्षण अघि पड्कीएको बमको आवजले
बहिरो भएको छु
बहिनिले बेदनाको गाँठो फुकाउदा
म मर्माहत हुनुको बदलामा
खित्का छोडेर हाँसिरहेको छु
किनभने मैले रुन बिर्सिसकेको छु


भाउजुले दैलामाथी लोहोरोले चुरा फुटाउदा
भतिजको गहभरी आसु टलपलाउदा
सबै जनमानसमा नैराश्यता छौदा
मृत लास काधमा राखी शंख बजाउदा
म खित्का छोडेर हाँसिरहेको छु
किनभने मैले रुन बिर्सिसकेको छु।



Wednesday, March 16, 2011

नाङ्गो जिन्दगिका भ्रमहरु

.

एकदम नै दयनिय अनुहार बनाएर मलाइ एकोहोरो हेरिरही म पनि निकै भाबुक भएछु सानो नानीलाई फकाएझै उनीलाई अगालोमा बेरेर कपाल सुमसुमाउदै सोधे तिमीलाई के भएको छ आजभोलि? मैले जिवनमा सबैभन्दा धेरै माया गरेको मान्छे तिमी। तिम्रो मायालाई म कहिल्यै बिर्सन सक्दिन। आजसम्म तिमिले मैले जे जे भने त्यो गर्यौ मैले जे चाह गरे त्यो तिमिले दिइरहेउ। हुनत तिमिले मेरा कुराहरु अब सुन्ने छैनौ होला तर पनि मलाई अझै तिमीमाथी ठुलो भरोसा छ। झुकेको शिर अलिक ठाडो पारेर निकै मायालु भाबमा मेरो नयन तिर हेरि।
खोइ मलाई के भयो त्यतिबेला मैले नचाहेर पनि जिन्दगीमा ठुलो गल्ती गरे,मलाई थाहा थियो म हजुरको भैसकेको मान्छे तर नदीको बाढीले खिचेर बीचतिर लगेजस्तो म पनि उ प्रति निकै आकर्षित भएछु। म भित्र न उ प्रति कुनै चाह थियो,न म हजुरलाई बिर्सिएर सोच्नै नसक्ने गल्ती जिन्दगीमा गर्न सक्थे म त उ सामु धेरै दिन देखि पोख्न नपाएको हाम्रो प्रेमको कथा बाड्ने सोचमा हाजिर थिए तर संसारमा न म मात्र थिए न हजुर मात्र अरु धेरै पनि छन् भन्ने मैले सोच्दै सोचिन र त आज म हरेक पल तनाबभित्र बाँच्न बिबस छु।
उनी डाको छोडेर रुन थालिन,उनकै छेउमा बसेर दुनियाँ यस्तै हो यहाँ भए नभएका हल्लाहरु निरन्तर चलिरहन्छ,तिमी सुन्दर छौ,इमान्दार,लगनशिल पनि त्यसैले तिमी यसरी रोएको सुहाउदैन इत्यादी भन्दै उनका गहमा टलपलाएका आँशुहरुलाई भित्रै लुकाउने चेष्टा गर्दै थिए तर मन न हो चोट परेपछी सम्हाल्न गार्हो पर्ने रहेछ मेरा यी शब्दले झन आगोमा घिउ थपे जस्तै भयो उनी झन भाबबिहोर भएर भक्कानिदै रुन थालिन्। मलाइ पनि अप्ठ्यारो महशुश हुन थाल्यो उनीलाई सम्झाउन त कता हो कता मेरा नयनहरु रसाएर गालाका डिलबाट तप्प तप्प आँशु खसाउन थालिसकेछन।
उनी बरबराउदै थीइन जिन्दगीको यो लडाइ मैले हारे समिर अनी तिमिले पनि हारेउ म सगसगै,जिते त उही हाम्रो नराम्रो चाहनेले उनै शत्रुहरुले अनी म त्यहि कायर सिपाहीं बनेर हात उठाउदै आत्मा समर्पण गर्दै छु जिन्दगीको यो कुरुक्षेत्रमा।आज म तिमीलाई कुनै नराम्रो शब्दले प्रहार गर्नेछैन बिगतको त्यो सन्देश मेरो पिंडाको उत्कर्षरुप थियो भनेर तिमिले पनि बुझिदिने छौ भन्ने आशा गरेको छु। हिजो के भयो तिमी र म बीच, तिमी र अरु कोहि बीच, म र अरु कोहि बीच म आज बहस गर्ने सोचले यी शब्दहरु ओकलिरहेको छैन। मान्छे हामी गल्ती नचाहादा नचाहादै पनि पाइला पाइलामा हुदोरहेछ जिवन भोगाइको सिलसिलामा यी अनुभबहरु भनेको सगाल्ने हो र अनुभबको आधारले भबिश्यतर्फ अघि बढ्ने हो।
जीन्दगी स्वतन्त्ररुपमा बाँच्न पाउने अधिकार सबैमा सुरक्षीत छ यदि उ कुनै सम्बन्धभित्र अनुबन्धित छैन भने तर मानिस कुनै न कुनै रुपमा सबन्धको जालो भित्र रहेको हुन्छ। बाबा,आमा,दिदी बहिनी,दाजु भाई,साथिसँगी,प्रेमी प्रेमिका इत्यादी। जब कुनै सम्बन्ध भित्र मानिस हुन्छ तब उसले आफ्ना केही चाहानाहरुलाई अरुको लागि समर्पण गर्नु पर्ने हुदोरहेछ ,बिचार माथि सम्झौता गर्न सक्नु पर्दोरहेछ ,एक अर्काको आदर गर्न सक्नुपर्दो रहेछ तब न सम्बन्धको दूरी नजिकिदोरहेछ।
तिम्रो र मेरो प्रेम शर्त नै शर्तले बाधिएको रहेछ। प्रेम त स्वतन्त्र रुपमा रमाउदै खुल्ला आकाशमा पक्षीं उडेजस्तो निर्धक्क भएर उड्न सक्नु पर्थ्यो तर हाम्रो प्रेमले त्यसरी रमाउदै आकाश छुने गरि उड्ने अबसर कहिल्यै पाएनछ र त आज यो दिन आउदैछ ।तिमिले यसो गर्नु उसो गर्नु मेरा झकझकाइले जन्मजात बोकेर ल्याएको तिम्रो स्वभाब कसरी परिवर्तन गर्न सक्थे र म?तर पनि अन्धो बनेर भनिरहे भनिरहे किनकी तिमीलाई गुमाउने डरले म त्रसित थिए। तिमिले पनि कहिल्यै नाइ भनेर भन्न सकेनौ किनकी मलाइ गुमाउने डर थियो तिमिभित्र पनि,कती रहरहरुलाई सती पनि पठायौ होला यही शर्तले बाधिएको प्रेम प्राप्तीको लागि भनेर।
समिर "जिन्दगी जिउने क्रममा एक अर्कासग कुनै दोभानमा भेटिएका थियौ हामी र बग्ने क्रममै कुनै गल्छेडाबाट आज फाटिदै छौ,दु:ख कति नमान यो जिन्दगीको रित हुनै पर्थ्यो ढिलो चाडो भयो त अब नयाँ ढंगले जिन्दगी सजाउनु पर्छ नयाँ अबसरहरुको सिर्जना गर्दै नयाँ तरिकाले बाच्नु पर्छ"। उनको अन्तिम अफ लाइन मेसेज थियो मेरो नाममा लेखिएको।
दोहोर्याइ दोहोर्याइ पढे उनको अन्तिम शब्दहरु आँखा धमिलो भएर आयो।कसरी लेख्न सकिन होला मेरी निताले यी शब्दहरु मनले पटक्कै विश्वाश गरेनन। सम्झदा एउटा युग नै आँखा अगाडी उभिए जस्तो लाग्ने गरि बिभिन्न घटनाहरुले जिन्दगीलाई यति लामो बनाइदिएको जस्तो लागेर आयो । जिन्दगिभित्र घटेका घटनाहरुलाई क्रमैसग सम्झन थाले प्रत्येक घटनाका स्‍मृतिहरु झन लामो लागेर आउन थाल्यो ।
चिसो बढ्दै छ रातको। बिछ्यौनामाथी पल्टिएको छु। मनमा अनेक तरङ्गका ज्वारभाटाहरु तछाडमछाड गर्दै बटारिएका छन्। इन्च इन्च नापेर अघि बढेको मेरो जिन्दगीको अतित सम्झन भने मलाइ केही क्षण काफी भएको छ। साना साना घटनाक्रमले निम्ताएका जिन्दगी नै कायापलट गरिदिने परिणामहरु जोडका तोडले मस्तिष्कको पर्दामा ठोकिएका छन। सिलसिला बिग्रिएरै भए पनि यो पछि त्यो वा त्यो पछि यो बिगतका सम्पुर्ण पलहरु ताजा भएर आँखा अगाडी हुत्तिएका छन्।
मोबाइलमा नम्बर थिच्छु हात कापिरहेको छ फेरि घण्टी नजादै काट्छु धेरै प्रयास गरे तर पनि कुरा गर्ने हिम्मत म भित्र आएन।म सगै सुत्ने,मलाई बिहानै ब्युझाउने,मेरो सन्देशहरु उनी सामु पुराइदिने,चाहेको बेला बार्तालाप गर्ने बाताबरण मिलाइदिने मेरो प्यारो साथि "मोबाइल" देखि आज निकै रिस उठेको छ, फ्याकिदिन्छु एक कुनातिर यसलाई तर अह उ रिसाएको छैन अझै बरु एकोहोरो मलाई हेरेर खिस्स हासिरहेको पो छ। एम. पी. थ्री. अन गर्छु उही बिरह लाग्दो गीत बजिरहेको छ "एउटा चिठी लेख्न मन लाछ--" छटपटिन्छु,सिरकले भत्भती पोलेको छ यो -४ डिग्रीको चिसोभित्र पनि। नयनबाट आँशु बग्न छाडिसकेको छ रित्तिएर होला शायद। सकी नसकी उठ्छु बाथरुममा छिर्छु। आँशुले लत्पतिएका आँखा पखाल्छु अलिकति फ्रेस हुन खोज्छु तर किन सक्थे फेरि सुरु हुन्छ।
खोइ किन हो यो रात आँखाले पटक्कै बिश्राम मागेका छैनन। दिमाग शुन्य बनाएर छपक्क निदाउन पाए पनि हुनिथ्यो तर मन पटक्कै मानेको छैन यो दिन सम्म आइपुग्न हामीले चालेका यात्राका पाइलाईहरु फेरि एकपटक परैदेखी हिडेर आँखाअघी आउदैछन,आफ्नै छाँयाले आफैलाई तर्साइरहेको छ।घुर्मैलो उनको आक्रिती आएर आँखा अगाडी पर्दा बनेको छ।बाहिर कतै बाट आएको टिर्र टिर्र टी टी.... यस्तै धुन कानमा बजिरहेको छ। सोच्छु मेरो जिन्दगी एउटा बासुरी हो जसलाई समयले फुकिरहेको छ म त्यहि समयको फुकाइ सगै बजिरहेको छु।
बिछ्यौनामाथी पल्टिएर दलिन चिहाउदै यो जिन्दगी को बहस गर्न मन लागेको छ आज मलाई आफ्नै मनको अदलतमा। जिन्दगीमा जतिसुकै कर्म गरे पनि जे जस्तो खेल खेले पनि सबैको अन्तिम नियत भनेको नदी किनारामा समापन हुँदै बगरमा डढ्नु नै त रहेछ। जति धेरै बाचे पनि,जसरी बाचे पनि,जे जे गरेपनी अन्तिम गन्तब्य भनेको एक्लो आफुमात्र खरानी बन्दै नदिमा बग्ने नै रहेछ। उफ्! बास्तबमा यत्रो लामो जिन्दगीमा म कति नाङ्गो रहेछु?
सोचमा डुबेको छु चित्तामाथी त्यो क्षण स्मरणमा सजाउदै। २-४ जना आफन्ता भनाउदाहरु भाबुकतामा डुबेका हुन्छन्,मलामीहरु जीवन साराको नजिक उभिएका हुन्छन। चित्तामाथी हरहर्ती बलिरहेको आगोको लक्पा अनी धुवाँको मुस्लो तिर हेर्दै छोराहरु सुक्सुकाइ रहेका हुन्छन। साथिभाइ हरु यस्तो थियो उस्तो थियो,सारै राम्रो मान्छे पो थियो त आदि इत्यादी गुण अबगुणको सम्झना गरिरहेका हुन्छन। आँशुले टम्म भरिएको परेली पुछ्दै मनमनै सबैले सोचिरहदा हुन "जीन्दगी त अझै बाँकी छ"।
जिन्दगिका हरेक रंगहरु खरानी जस्तै देखिरहेको छु। प्रत्येक बस्तुहरु खरानी खरानी बनिरहेको देख्दैछु एकमनले भने अर्को मनले भन्दैछ जीवन त बग्ने नदी हो। जिन्दगी कुनै पोखरीको पानी जस्तो होईन एकैठाउमा जमिरहने लेउ,झ्याउ र हिलोसग एकाकार गर्दै।साँच्चै जिन्दगी अटुट रुपमा रोसनी छर्दै पूर्वदेखी पश्चिमसम्म दौडिरहने पुर्णिमाको जुन हो। पल पल ढुक ढुक गर्दै बाच्नु पर्ने आवाज हो।हाँसोहरु को भण्डार हो।अमृतको खानि हो। जिन्दगी त एउटा संगम हो जहाँ धेरै मनहरु एक भएर जोडिन्छ,सबैसग मिलेर बाचिन्छ,हाँसेर बाचिन्छ।
आफैले प्रश्न सोध्छु त्यसो हो भने मृत्‍यु के त?- मृत्‍यु त जिन्दगीको निरन्तरता मात्र हो, मृत्‍यु सम्पुर्ण कुराहरुको अन्त्य पनि होईन। भौतिक शरीरको अनुपस्थितिमा पनि जुन दिन सम्म मानिसहरु मरेको दिन सम्झिरहन्छन तबसम्म उ ती मनहरुमा बाचिरहेको हुन्छ। मृत्‍युलाई जुन रहस्यको रुपमा हेरिन्छ बास्तबमा मृत्‍युको त्यस्तो रहस्य केही रहेनछ।मात्र यो त एउटा चक्र हरेक कुराहरुको जस्तै शुरु पछिको अन्त्य।
इती।







.

Monday, February 28, 2011

गजल

तिमी छौ यो हिर्दयमा अह ढाट्या छैन
बिश्वास गर कतै अर्को डोरी बाट्या छैन

शंका कति नगरे निश्चल छ यो आत्मा
गर्दैछु म साँचो कुरा आदर्श छाट्या छैन

सम्झनी ताजै छ हाम्रो मिठो बाचा कसम
बिर्सिएर तिमीलाई कुनै सिमा काट्या छैन

तिमी सगै छौ र संसार जिते जस्तो लाग्छ
यो मनको चोखो माया अरुसग साट्या छैन

त्यहि छ आज पनि हिजो जहाँ थियो
तिम्रै हो यो प्रबिण कतै फाट्या छैन







Thursday, February 24, 2011

मेरो पत्रको जबाफ

                                                                                                फेब्रुवरी १४,२०११


मुटुको धड्कन समिर!


हुन त तपाइले मेरो पत्र प्रति कुनै टिप्पणी नगर्न आग्रह गर्नु भएको थियो तर पनि पत्र पढिसकेपछी यो चन्चल मनलाइ थुन्न सकिन अनी तपाईंको आग्रह बिपरती यो पत्र लेख्दै छु सक्नु हुन्छ भने मलाइ माफ गरिदिनु हवस! धेरै धेरै आभारी छु तपाई प्रति यसलाई पढ्ने अबसर दिनु भएकोमा।

आफैले आफैलाई धिक्करे एकपटक भाब बिहोर भए अनी तपाईंको शुन्यता र निरसतालाई पटक्कै देख्न नचाहने म भित्र भित्रै जल्न पुगे किनभने यो सब म बाट नै भएको हो मैले गर्दा नै तर समिर जिन्दगीको अनेक आरोह अबरोहमा हण्डर अनी ठक्कर खानु हामीले पर्छ किनभने जीवन हामिसग तर जिवनको रिमोट कन्ट्रोल अरु कसैसग छ। हामी चाहाना त गर्छौ हामीले चाहेको जिन्दगीको तर अरुको मर्जि हाम्रो इच्छाको खिलाफ अनी शुरु हुन्छ इच्छा बिपरितको गन्तब्यहिन यात्रा नचाहेर पनि हामी दौडनु पर्छ यही यात्रामा खै कुन मोडमा के हुन्छ कसलाई के थाहा? त्यसकारण मैले आफ्नो जीवनलाई कहिल्यै पनि आफ्नो सम्झेकी छैन सधैंभरी अरुबाट सिन्चित मेरो जीवनपनी अरुलाई नै सुम्पेको छु। आमा बाबाको लागि कहिल्यै आफ्नो बारेमा मैले सोचिन त्यसैले आफ्नो एउटा हातले आफैलाई दागबत्ती दिदै अर्को हातले नयाँ जीवनको शुरुवात गर्ने प्रयास गरेको छु एकैसाथ।

जीवनलाई बगेको पानी सग तुलना गर्ने हजुरलाई मेरा थोत्रा अर्थहिन वाक्यको जरुरत त छैन तरपनी केही शब्द लेखुँ लेखुँ लाग्यो स्वीकार गर्नु ल!

जुन दिन देखि हाम्रो भेट भयो त्यसदिन देखि मलाइ लाग्थ्यो म मेरो जीवनमा यस्तो एउटा पहिचान बनाउछु जुन पहिचान देखेर अरुले पनि त्यस्तै बनाउने कोशिस गरुन"बिशुद्ध निस्वार्थ प्रेमको परिचय" समाज भन्दा बिल्कुल माथि कहिल्यै नटुङ्गिने एक भाबनात्मक सम्बन्ध जहाँ पाउने र गुमाउनेको कुनै चिन्ता नै हुदैन जसको क्षणिक प्राप्ती सधैंको लागि हुनेछ जबसम्म हाम्रो जीवन रहन्छ हामी बीच अनी हामी पछि नयाँ पुस्ताको अनुशरकको रुपमा। हुनत हामी धेरै ठुलो ईतिहास बनाउन सक्दैनौ होला तर हाम्रो पहुचभित्रको इतिहासमा एक अमिट छाप छोडेर जाने रहर त्यो शायद आज पूरा भएको छ जुन सम्बन्ध यस चराचर जगतको मानिसको सोचाइ भन्दा नितान्त फरक छ मैले त पाइसकेको छु हजुरलाई त्यो सम्बन्ध स्थापकको रुपमा।

समिर! जिवनका उत्तर चढाब सगै हाम्रो सम्बन्धमा पनि धेरै बिघ्नबाधाहरु नआएका होइनन त्यसबेला मलाइ डर लाग्थ्यो कही कति मेरा सपनाको रहर रहरमै सिमित रहने त होइन? यो स्वार्थी संसारमा त्यस्तो सम्बन्धको पहिचान बनाउन खोज्नु कल्पना मात्र हो त? तर आज लाग्छ निस्वार्थ मनले चाह्यो भने सब कुरा पुग्छ तर पनि कता कता गुनासो रहन्छ मलाइ जस्तै यस सम्बन्धबाट किन मेरो समिरलाई आत्मा सन्तुष्ठी भएन?आखिर किन? म बाटै कमजोरी भएको छ कि? मलाइ अहीलेसम्म दु:ख नै नपर्ने तर हजुरलाई जताततैबाट चोटै चोट बरु सारा चोटहरु मलाइ दिएर किन हजुरलाई खुशि नदिएको होला? म त जे परे पनि सहज रुपमा नै लिन सक्थे नी।

समिर! शायद असल मानिसलाई भगवानले धेरै दु:ख दिदै परीक्षा लिन्छन अरे त्यहि भएर नै होला भगवानले हजुरलाई रोज्नु भएको एक परीक्षकको रुपमा नत्र मलाइ पनि .... तर मलाइ लाग्छ एक दिन म जस्तै हजुरलाई पनि यस सम्बन्धले सन्तुष्ठी दिने छ र जिवनको नयाँ पहिचानको रुपमा यसलाई सहर्ष स्वीकार गर्नु हुनेछ। हो म पनि स्वार्थी त छु नी तपाइको मुहारमा सदा खुशि चाहान्छु त्यो मेरै खुशिको लागि त हो नि। तपाइ त मेरो ताकत हो आफ्नो ताकत कमजोर भएको कसले पो देख्न चाहान्छ र?

समिर! मेरै स्वार्थको लागि तपाइसग आग्रह गर्दै छु आफ्नो अतितलाई बिर्सनु होस् भनेर। हुन त भन्न त मलाइ सजिलो छ तर वास्तविक जिवनको वास्तविकता पनि त यही हो नी होईन र? आफैलाई जलाएर कसको लागि बाँच्नु त्यसकारण जति बाँच्नु छ हाँसेर बाँच्नु पर्छ भोलीको जिन्दगी रहन्छ या रहदैन आजमा रमाउने कोशिश गर्नुहोला।

समिर! हजुर त मेरो लागि भगवान सरह पुज्य हुनुहुन्छ भगवानलाई त देखेको छैन अरुले सरह पुजेको छु केबल विश्वाशमा तर तपाइलाई भगवानले आफ्नो चेलो बनाएर धर्तिमा पठाउनु भएको छ मेरो प्रेमको रुपमा जसको अनुभब मैले गर्न पाएको छु एक प्रेरणाको श्रोतको रुपमा,एक अबिभाबकको रुपमा जसको माध्यमाबाट टुटेको मेरो जिन्दगी फेरि जोड्न सकेको छु शायद अरुले सक्ने थिएन।

अन्त्यमा, हाम्रो भागको जिन्दगी हामीले जिउनु पर्छ, जिवनसग भागेर होईन मुक्काबिला गरेर कतै हाम्रो जीवनमा हामीले सोचेको भन्दा राम्रो पो हुन्छ कि! फेरि तपाइले आफ्नो जीवन तपाइले अती माया गर्ने सग होईन तपाइलाई अती माया गर्नेसग बिताउनु पर्छ तपाईंको जिन्दगीमा आउने मानिस दुनियाँको सबैभन्दा असल मान्छे पो हुन्छ की!

सदा सर्बदा भगवानसग प्राथना गर्छु तपाईंको जीवन फुलोस फलोस अनी दु:ख भन्ने शब्दले तपाईंको जिवनरुपी शब्दकोषमा कतै ठाउ नपाओस भनेर!

                                                                                    उही तपाइकी स्नेही

                                                                                                  श्वेता






Friday, January 28, 2011

गजल



पुरानो भत्काइ नयाँ थाल्ने कुरा कमरेडका
ढुङ्गा पगाल्ने पानी बाल्ने कुरा कमरेडका

सामन्ती संस्कार रुढिबादी समाजको जालो
सदा सदाको लागि फाल्ने कुरा कमरेडका

खोसेर लिने हो अधिकार मागेर पाइदैन
निकै मीठा जनता उचाल्ने कुरा कमरेडका

पाखा लगाइ क्रान्ति चल्दै छौ ढाटछेलमा
हरायो बिकासको जग हाल्ने कुरा कमरेडका

समभाब,सुशासन शान्तिको बिगुल फुक्दै
भ्रष्टचार जरैदेखी उखाल्ने कुरा कमरेडका

Sunday, January 16, 2011

गजल

जब राति हुन्छ अनि यादको ताँती हुन्छ
मुटु ढुक्क फुल्छ मनमा नानाभाती हुन्छ

आजभोलि सपनिमा बर्बराउने गर्छु अरे
छामी हेर्यो यता उती दु:खेको छाती हुन्छ

देखेपछी माया मोह नदेख्दा को हो को हो
अब तिम्रो मेरो भेट नहुनुमै जाति हुन्छ

धेरै थरी फूलहरु फुलेपनी बगैचामा
यी नजरमा फूल्ने फूल सबै पाती हुन्छ

खै यो पापी संसारमा कसको विश्वास गर्नु
जानिजानि नियतले मान्छे घाती हुन्छ

गजल

कस्तो माया गर्यौ सानी कुनै आभाष छैन
रित्याउदा आफूलाई अझै विश्वाश छैन

आज भन्छु सबैकुरा भनि नजिक आउछु
रुखो बोली बोल्छौ सधैं कति मिजास छैन

फूल ठान्थे तिमीलाई ढुङ्गा रहिछौ भित्र
खोजेकै हो चारैतिर कति सुबास छैन

चपेटामा पर्दा प्रेम साढे सातको दशा
खिस्स हाँस्छौ थाहा पाइ कति हतास छैन

दु:ख दिदा अरुलाई कस्तो सन्तोष मिल्छ
मरे पछि नर्क जाने पाप को त्रास छैन