Tuesday, July 19, 2011

झरी परिरह्यो

धेरै दिन पछि कालो बादलको पर्दाले आकाश कैद भएको छ। धर्ति अधेरिएको छ। बाहिर सिम सिम पानी पर्न थालेको छ। पर पर देखि समुन्द्रको छाल किनार चुम्न उत्ताउलो पाराले हुत्तिरहेका छन म झ्यालको पर्दा खोल्छु गर्मीले उकुशमुकुश भएर चाउरिएको मेरो अनुहारलाई हावाको एक सप्काले स्पर्श गरेर जान्छ म शितलताको अनुभुती गर्छु। बेडमा पल्टन्छु सिलिङमा गएर मेरा नजरहरु ठोक्किन्छन मनमनै सोच्छु मेरा नजरहरु जस्तै मेरो मन किन ब्रेक लाग्दैन कहिल्यै? एकाएक मेरा अगाडी दशक अगाडीको घटनाक्रमहरु यो पछि त्यो वा त्यो पछि यो शिलशिला बिग्रिएर भएपनि उभिन थाले।
आकाश निर्मल थियो भाद्रको महिना पनि कतै बादलका धब्बाहरु देखिएका थिएनन, मन उमंगले फुलेको थियो जताततै खुशि मात्र अह मलाई नै थाहा थिएन किन म हर्षित थिए।
एस. एल. सी. को परिणाम पछि इन्जिनियरिङ क्याम्पसको अध्ययनको शिलशिलामा पश्चिमाञ्चल इन्जिनियरिङ क्याम्पस पोखरामा भर्ना भएर दशैं तिहार पछि मात्र पढ्न जाने सोचमा घरतिरै बस्थे। म सबैसग थोरै बोल्छु त्यसैले पनि होला जो सग बोले पनि लजाएर बोलेजस्तो आभाष मलाइ हुन्छ। त्यसै समयमा मेरो परिचय एउटा केटिसग हुनपुग्यो। हुन त भौतिकताको हिसाबमा उनी त्यति टाढाको त थीइनन तापनि म सगको उनको यो बोली भनि पक्कै पनि पहिलो पटकको नै थियो। केही क्षणको भलाकुसारी अनी केही बेर को देखभेटले म भित्र अनौठो किसीमको उन्माद भरेको थियो,मलाई उनिप्रती आकर्षित गरेको थियो। शारिरिक रुपमा सुन्दर उनी त्यसमाथी बोली चालीको मिठास म भित्र क्षणभरमा अमिट छाप बसिसकेको थियो। मेरो फुर्सदको समय,चाडबाडको नजिकाइले गर्दा बिद्यालय बन्दले उनी पनि फुर्सदी त्यसपछी दिनानु दिनको भेटघाटले हामिबिच आत्मियता बढाएको थियो। यसैबिच १ महिनाको लामो समय समाप्तिसगै म आफ्नो अध्ययनकोलागी पोखरातर्फ लागे।
म सानै उमेर देखि घरबाट टाढा रहेर पढेको कारण घर कम जाने बानी परिसकेको थियो त्यसैले पनि अब उनिसगको भेटघाट कम हुने कुरा अस्वभाबिक थिएन तर म उनलाई जतिखेर पनि आफ्नै समिपमा पाइरह्न्थे,कल्पनाको तरङगहरुमा भेटिरहन्थे। भन्छन् नी कल्पनाभित्र पनि यथार्थता लुकेको हुन्छ त्यस्तै मेरो कल्पना भित्र पनि केही सत्यताको आभाष भएको म पाउथे।
समय पनि कति चाँडो बित्दोरहेछ १ बर्ष बितिसकेछ यसै क्रममा २०५८ सालको दशैं पनि नजिकिदै थियो। म पनि बिजया दशमीको लागि घरतिर लागे। बिंजया दशमीको पावन अबसरसगै यसपटक आफुभित्र बर्षौ देखि उर्लिएकोको भावनाका अन्तरंगहरुलाई उनिसामु पुर्‍याउनु पनि थियो मलाई। मन भित्र पलाएको बसन्ती मुनालाई बढ्ने बातावरण सिर्जना गर्नु थियो त्यसैले greeting card मार्फत दशैंको शुभकामना र मन भित्र उकुशमुकुश बनिरहेको एउटा कुरा व्यक्त गर्न चाहन्थे तर अपसोच मेरा सम्पुर्ण ईच्छाहरुलाई दम्मित गर्दै उनिसग रहस्यको गाठो फुकाउन म असमर्थ भए। म आफैले आफुलाई लाहाचार लाक्षी सम्झिरहे। मनको कुरो उनिसग साट्न नपाएर के भो र? म भित्र भने उनको स्‍मृति झन झन प्रगाढिडै थियो यतिसम्म की उनलाई स्मरण गर्दा मात्र पनि म अशिम अल्हादित बनेर फुलिरहन्थे।
जब दशैं तिहार सकाएर म आफ्नो पढाइको शिलशिलामा पुन: पोखरा फर्किए तब मेरो जीवनमा कालरात्रीको प्रबेश भयो। सोच्दै नसोचेका घटनाक्रमले जिन्दगीलाई आक्रान्त बनाए। देशको तात्कालिन राजनितिक परिस्थितीको शिकार म पनि भए। एउटा फक्रिदै गरेको फूलमाथी राजनीतिको रंग दिएर पूर्ण रुपमा फुल्न नपाउदै चुडेर फाल्ने हर्कतहरु भए। राज्यले अधिकार र समानताको खोजी गर्ने एउटा आफ्नो नागरिकलाई आतंककारीको बिल्ला भिराउदै, देशद्रोहीको आलंकार टक्राउदै यातनाका कोसेलीहरु उपहारको रुपमा थमथमायो। ५ महिने लामो जेलका चिसा सिढिहरुमा भएग्रस्त रुपमा बाँच्न बिबस बनायो। आफ्नै भाग्यलाई धिक्कारिरहे भाबीले लेखेको कुरा कहाँ टार्न सकिन्छ र चित्त बुझाउने बाटो यहि मात्र थियो। मृत्‍युसग डर लाग्न छोडिसकेको थियो। एक्लै छात्ती फुलाएर गर्ब गर्थे आफैसग भन्थे- मेरो देश र जनताको प्रगती र परिवर्तनको खातिर म मर्नु पर्छ भने किन पछाडि भाग्ने? म हाँसेर हत्केलामा जीवन चढाउन सक्छु।
आकाशको कुनै कुनाबाट अचानक कालो बादलको धब्बाहरु जोडसाथ हुरिदै अगाडी बढिरहेको थियो,कमिला हिडेर तर्न सक्ने खोलामा पनि मङसिरमासमा तर्न नसक्क्ने गरि बाढी उर्लेर आउँदै थियो,भबिश्यमा हिड्ने सम्पुर्ण बाटाहरु एक पछि अर्को आँखा अगाडी पैरदै थिए। साँच्चै जिन्दगीमा एउटा तुफान आउँदै थियो जसको झोक्काले मलाइ दुर दुर हुत्ताउदै थियो। क्षितिज पारीको बस्तीहरु उजाड बनाउदै थियो,कोलाहलमय बस्तीहरु भित्र चित्कार नै चित्कारको आवाजहरु गुन्जायमान बन्दै थियो। यहाँ सबै डाको छोडेर रुदै थिए त्यसैले कसको चिच्चाहट कसले सुन्ने? कसैको पिडा र बेदना सुन्ने फुर्सद यहाँ कसलाई? यस्तो भयाबह अवस्थाको कहालिलाग्दो परिस्थितीले मेरो जीवनलाई अनायस रुपमा गाजिरहेको थियो। मेरो यस दुखद घडिमा मेरा आफन्ताहरु सामु उनले दुई थोपा आँशु चुहाएर सहानुभुति प्रकट गरिन रे। अनी जनयुद्धको महान योद्धा बनेर समाज बदल्ने उनको सपना माथी पुनर्बिचार गरिन रे। कम्तिमा मेरा दु:खले उनले आफू हिंड्न लागेका बाटाहरु सहि वा गलत के हो भनेर मुल्याङ्कन गर्ने अबसर त पाइन यहि नै जिन्दगिसगको मेरो जित थियो भने अर्को पाटोमा लक्ष्यसगको लज्जास्पद हार जुन म स्मरण गर्न पनि चाहन्न यो जिन्दगिभर।
जब नब बर्ष २०५९ आगमन भयो यसले नयाँ सुनौला किरणहरु मेरो जिन्दगिमाथी पनि छर्न थाल्यो। २०५९ वैशाख ३----- धन्य यो नै मेरो जिन्दगीको संजिवनी बनेर आयो,मेरो प्राणमुर्ती साबित भयो। जिन्दगिसग हारिसकेको लडाइ पुन: जित्ने आशाका साथ कालो अन्धाकारमय रातको बिदाइ गर्दै पुर्बी क्षितिजमा सुनौला आशाका किरणहरु उदायमान भए। पहिलेकै जस्तो स्वतन्त्र वाताबरणमा पुन: आफूलाई समाहित गर्न पाए।
२०५९ वैशाख १० गते जब म घर पुगे म भित्र खुशिका असिमित सिमारेखाहरु कोरिएका थिए। सबै आफ्ना चिर परिचित मित्र,मान्यजन,भाइ,बहिनी सबैलाई भेटे तर उनलाई भने भेटिन किनभने अब त उनी पनि एस एल सी परिक्षा सकेर काठमाडौं तिर लागिसकेकी रहिछन। जसले मेरो दु:खमा दुई थोपा आँशुको सहानुभुति प्रकट गरेको थियो उनलाई एउटा सानो आरामी स्नेहको पत्र कोरेर एउटा साथिलाई दिन भनि छोडे। आज सम्म म अनभिज्ञ छु उनले त्यो पत्र पाइन वा पाइनन।
निर्दिष्ट पथमा अघि बढ्ने क्रममा म पनि पोखरा छोडेर काठमान्डौमा रहन थाले तर १५-१५ दिनको फरकमा जिल्ला प्रशाशन कार्यालय पोखरामा तारेखमा धाउनु पर्थ्यो। ५ पटक सम्म त तारेखमा सामेल भए तर पछिल्ला तारेखमा भने म सामेल भइन किनकी धादिङ देखि पोखरा सम्म १ सहिछाप गर्न भनेर १५-१५ दिनमा जानु आर्थिक हिसाब अनी मनोबैज्ञानिक हिसाबले पनि कठिन थियो भने अर्को तिर तारेखको औचित्य शुन्य थियो।
२०५९ गाईजात्राको दिन क्याम्पसबाट पठाएँको चिठ्ठी लिन भनि म र मेरो भाइ उनको कोठातिर अघि बढ्यौ। मलाइ उनको ठेगाना पनि थाहा थिएन त्यसैले पनि भाईको साथमा उनिसामु पुग्नु पर्ने थियो। कोठा भन्दा अलिक परैबाट भाईले घर चिनाइएका थिए। कोठा भन्दा अलिक टाढैबाट मैले उनलाई देख्दै थिए म भित्र त्यो क्षण निकै खुशि आभाष भएको थियो भने अर्कोतिर अली अली लाजको पनि महशुश भएको थियो। हुन त क्याम्पसको चिठ्ठीमा परिक्षाको लागि बोलाइएको थियो भने थाहा मलाइ थियो तर पनि मेरो उधेश्य चिठ्ठी लिने बहानामा उनीलाई भेट्ने नै थियो। २-३ घण्टाको बसाइमा सानातिन सुख दुखका कुरा भए त्यसपछि त हामिलाई पनि कोठामा फर्कनु पर्ने थियो। फेरि चाडै भेट्ने बाचाका साथ बिदाइको हात हल्लाउदै हामि टाढियौ उनको मुस्कान आँखाभित्र सजाएर।
२०५९ आश्विन अन्त्यतिरको कुरो हो सबै नेपालिका घर आँगनमा दशैंको चहल पहल बढ्दै थियो,सबै आफ्नो चाडपर्ब राम्रोसग मनाउन आ-आफ्नो क्षमता अनुसार ॠण लिएर होस् या कुनै मजबुरी गरेरै किन नहुस पैसा जम्मा गर्दै थिए।देश बिदेशमा रहेका नेपाली दाजु भाइ दिदि बहिनिहरु पनि घर फर्कदै थिए। देश चरम द्वन्दभित्र फसेको थियो तर पनि लाग्थ्यो यस सुखद क्षणमा कोहि दुखी छैन तर मेरो मन भने पूर्ण रुपमा खुशी थिएन। साथिभाइहरु सगै रहदा हाँस्ने अभिनय मात्र गर्थे तर यथार्थमा अद्रिश्य बनिरहन्थे मेरा खुशिहरु। निदनिमा देख्ने सपनि म दिनमै टोलाउदा टोलाउदै देखिरहन्थे। म कसैको प्रतिक्षामा नयनहरु दौडारिरहन्थे। यिनै कल्पनाहरुमा रमिरहदा सबैका घरहरु सिगारी सकेका थिए वातबरण अर्कै बनिसकेको थियो। म भित्र भने किन हो कुनै पनि कुराले प्रभुत्व जमाउन सकेको थिएन म एकोहोरो बनेको थिए मात्र मेरा त्रिषित नयनलाई उनको कोमल मुहारको एक द्रिश्य पान गराउन।जब मिर्मिरे उज्यालो उषाको निस्तब्ध हुस्सुलाई पन्छाउदै प्रिथिबी लोकमा प्रबेश गर्थिन मेरा लोभि नयन उनकै दोबाटोमा यता उता भौतारिरहन्थ्यो,दौडिरहन्थ्यो अनन्त अनन्तसम्म।
रगतको नाता भन्दा भाबनात्मक रुपमा गाँसिएको नाता प्रगाढ हुन्छ भन्थे। कस्तो अचम्म यो मर्त्यलोकको उपज प्रेम भन्ने शब्द कति प्रिय छ। साचो अर्थमा प्रेम जीवन हो अमिट,अबिस्मरणिय र आत्मिय नाता हो जुन जिन्दगीको आरोह अबरोहमा बिभिन्न यातना दु:ख सुख सबै बेहोर्न तयार हुन्छ। प्रेम जिवनको उत्प्रेरक हो। जति पवित्र र शक्तिशाली छ यो त्यतिनै भयानक बिनाशकारी पनि। यस्तै भाबनात्मक अन्तरंग भित्र सुन्दर सपना बटुल्दै प्रतिक्षाको घडिमा मिलेका अनुभबहरुको सगाँलो भित्र आफूलाई बिलिन गराउदै म ती दिनहरुमा जीवन स्वप्नको अत्रिप्त प्यास सगाल्दै कहीले रोइमात्र रहे भने कहीले हाँसिरहे मात्र।
समय आफ्नै रफ्तारमा अघि बढ्दै थियो कति कर्तब्य निष्ठ छ यो,कति कठोर छ यो न कसैलाई यसले पर्खन जानेको छ न कसैको पिडा नै बुझ्न। आज फूलपातीको दिन पक्कै पनि उनको आगमन हुन्छ। मेरो प्रतिक्षाको फल पाउने छु त्यसैले दिनभरी जस्तै मेरा लोभि नजर उनकै आगमनको बाटाहरु टोलाइरहे। टाढा टाढा आफ्नो दैनिकीमा गएका चराहरु गुडतिर फर्कन थाले,पश्चिमी क्षितिजमा घाम अस्ताउनै लागेको देखियो मात्र केही राता किरणहरु बाँकी थिए। सबैका घरमा टुकी सल्किसकेको थियो म भित्र भने नैराष्यताको घुरमहिलो वाताबरणले प्रबेश गरेको थियो किन हो किन औंशी पछिका पुर्णिमाका रातहरु भएपनि सधै देखिने अर्धचन्द्रकार चाँदनी आज मैले आकाशको कुनै कुनामा देखिन। ताराहरु उदाएको आभाष भएन म आफ्नो गहकिलो मनलाई बोकेर सोचाइको यात्रामा गन्तब्य रहित पाराले पागल सरी दौडिरहे।
शायद अन्जानमै मैले उनलाई एकतर्फी माया गर्न थालिसकेको थिए। एकतर्फी माया घातक हुन्छ भन्ने सुनेको थिए। म साच्चै चालक बिनाको बसको यात्री जस्तै बनेको थिए जसको दुर्घटना असम्भाबी छ पिजडाको चरी जस्तो बनेको थिए जसको आफ्नो स्वतन्त्र अस्तित्व हुदैन। बिछ्यौनामा पल्टिए सोचाइमा हराए। आँखाहरु उर्लिरहे,मुटु भक्कानिदै गड्गडाए। भन्छन् रोएपछी पिंडाहरु कम हुन्छ रे मनलाई सान्त्वना मिल्छ त्यसैले पनि रोए यदि त्यो रात अनमोल आँशुका गाथाहरु सगालेको भए म आफूलाई स्नान गर्न पुग्थ्यो होला। सिरानी भिजे तर शितलताको अनुभुती भएन। हेर्दा हेर्दै आँखा अगाडी सुन्दर सपनाको महल बग्यो अनी धेरै चोट खाँदै अन्तत सागरमा गएर मिल्यो। अनेकै तर्कना बीच निन्द्रा देबीको प्यारो काखमा कुन बेला पुगेछु पत्तो भएन।
खहरे उर्लेर के गर्नु बर्षात पछि सुक्नुपर्छ। बशन्तमा फूल फुलेर के गर्नु शिशिर लागेपछी झर्नु पर्छ। निदनिमा मिठो सपना देखेर के गर्नु ब्युझेपछी त्यसले मर्नु पर्छ तर यी सब नियम हुन जो जस्तो हुनुपर्ने हो त्यस्तै हुनुपर्छ बरु समयसगै आउने समस्याहरुको सहि तरिकाले सामाना गर्दै अगाडी बढ्न खोज्नु महान कार्य हो।जलेर आकुल ब्याकुल बनेको मनलाई सान्त्वनाका मीठा दर्शनहरुले थमथमाउदै चुपचाप बसिरहे भोलिको सुनौलो दिनको प्रतिक्षामा। हुन पनि उनीलाई प्रेमिका बनाउन खोज्नु,बर्षौसम्म आफ्ना कुराहरु भन्न नसक्नु अनी उनकै यादमा एक्लै छटपटिरहनु पागलपन भन्दा बढी केही थिएन। यी सब मेरा कल्पनामा उठेका भाबनाका तरङ्गहरु मात्र थिए जसरी एउटा पोखरिमा ढुङा फ्याक्दा उठ्छ अनी ती तरङ्गहरुले किनारालाई चुम्न पनि सक्छन नचुम्न पनि सक्छन त्यो त ढुङ्गा को प्रकृति हावाको बहकाइ,कती बल प्रयोग इत्यादी कुरामा भर पर्ने कुरा हुन्।
रातको अन्तिम प्रहर परेवाको घुराइसगै आफूलाई ब्युझाउदै जलिरहेको मुटुलाई चिस्याउन चिसो चिसो बतास पिउदै एउटा हातमा गाग्री अर्को हातमा लालटिन बोकी लागे पधेरीतिर किनकी आज अष्टमीको दिन थियो। मधुरो लालटिन जताततै उज्यालो छरेको थियो चराहरु चिरबिर चिर्बिर गर्दै उज्यालो दिनको स्वागत गरिरहेका थिए। अष्टमीको दिन सबै नुहाइ धुवाइमै ब्यस्थ थिए। अलिक भिड पनि थियो,झिसमिसे झ्यालो रम्रोसग मान्छे चिन्न पनि गार्हो थियो त्यहि भिडमा एउटा परिचित स्वर गुन्जायमान हुन्छ जसको प्रतिक्षामा म धेरै दिनदेखी तड्पिरहेको थिए। जसको एक दर्शन पाउन म कति लालायित थिए। त्यो पल म हर्षले बिष्फोटित बनेको थिए जस्तो एउटा बालक स्तन पान गर्दै आमाको काखमा रमाउछ। अह! किन? म आफैलाइ थाहा छैन।
पधेरीबाट सगै घर फर्कियौ बाटामा धेरै कुराकानी पनि भएन। मैले पहिले नै भनिसके म थोरै बोल्छु त्यसमा पनि एउटी केटिसग। यस्तैमा सामान्य वाताबरण बीचको छोटो यात्रा टुङ्गियो। जानु है भने उनी आफ्नो घरतिर लागिन भने म आफ्नो तिर। त्यस समय उनी यति सुन्दर थीइन् की कथाहरुमा सुनेको ३२ लक्षणले युक्त स्वर्गको परी जस्ती,मधु मालतीको कथाको मालती जस्ती। मलाइ त उनको अनुहार नै एउटा दर्पण जस्तो लाग्यो जसभित्र म आफ्नो प्रतिबिम्ब छर्लङ्ग पाउथे।
घामको सुनौलो किरणले आफ्नो प्रथम पाइला पोतिएको आँगनमाथी छरिसकेको थियो। आँगनको एउटा कुनामा अगेनुमाथी ठुलो खड्करोमा पानी उम्लिरहेको थियो। दाउराहरु आफ्नो कर्तब्य पालन गर्दै खरानिमा रुपान्तरित भएको प्रष्ट देखिन्थ्यो। एउटा सानो रशीले बर्षौसम्म स्नेहले पालिएको खशीलाई बाधिदै थियो। हतियार धारिलो बनाउन शान लगाइदै थियो। यी सब रमिता म पिढीको डिलमा बसेर हेरिरहेको थिए। मलाइ थाहा थियो अब केही बेर म यो खशीको हत्या गरिने छ अज्ञात देबीको पुजा गर्ने नाममा। म यो निर्दोष प्राणीको हत्या गर्न किन हामी आतुर छौ । यसले आफ्नो स्वतन्त्र अस्तित्वमा बाँच्न किन नपाउने? यसको पनि रगत मेरो जस्तै रातो नै छ। आखिर किन देबीको पुजा गर्ने नाममा यसले आफ्नो जीवन सुम्पनु पर्ने? म भित्र हिनता बोध भएर आयो। फेरि एकपटक उसलाई हेरे अह उ कति डराएको छैन मृत्‍युसग। हिजो जस्तो थियो आज पनि उ उस्तै छ। यसले पो बुझेको रहेछ जिन्दगीको वास्तविकता जिवनको अर्को पाटो मृत्‍यु पनि हो भनेर। अनी मैले सोचे हामी सबै रोएर जन्मेको मान्छेहरु भन्दा यो कति ज्ञानी रहेछ किनकी यसले हाँसेर मर्न त सिकेको छ। रोएर जन्मने अनी मृत्‍युसग पनि रोइ रोइ भाग्न खोज्ने यो कायर प्रब्रितीले मान्छेलाई कहीले नछोड्ने भो त्यसैले म गर्बले छाती फुलाएर भन्न सक्दिन म श्रेष्ठ प्राणी मानिस भनेर किनकी मैले जीवनको एउटा चक्र कहीले पूरा गर्न सकिन म रोएर जन्मे रोएरै मर्ने छु।
मलाइ महशुश हुन थाल्यो निर्दोष प्राणीको हत्या गरेर देबीको पुजा गर्ने कुरा अन्धबिश्वासको चाल्नामा हालेर केलाइएको एउटा खोक्रो,निक्रिष्ट आडम्बरी शब्द मात्र हो तर म बिबस भए उसको हत्यामा सामेल हुन एउटा कठोर राक्षस बनेर। यसै समय मैले सोचे जिन्दगी आखिर के नै छा र? जस्तो यसको मेरो पनि त्यस्तै त हो। खोलाको पानी जस्तै एकपटक बगेर गएपछी पुन: कहिल्यै नफर्कने।
अष्टमीको दिन बिहानको खाना पछि दिप ज्योती बाल क्लबले आयोजना गरेको सानो चेतनमुलक सास्क्रितिक कार्यक्रमको तयारीमा अन्य सहिर्दयी साथिहरुसग जुटे जहा मेरि मनकी रानीको पनि उपस्थिती थियो। कार्यक्रमको मध्यान्तरतिर प्रकाश पौडेलको आमा मलाइ त्यहि केटी चाहिन्छ........ भन्ने गीत पर्दा पछाडी बजिरहेको थियो। सुन्दा हाँसो उठ्दो रोमान्टिक गीत भए पनि म भित्र भने यसले मौनता थपेको थियो। मेरा पापी नजर उनैतिर हुत्तिरहे,मन उतै दौडिरह्यो मन मनै आफैसग भने आमा मलाइ पनि त्यहि केटी चाहिन्छ।
दिनहरु बित्दै गए,उनी पानी भर्न आउने बाटो मेरा परम मित्र भन्न पुगे। यसो बाटोमा उनी पानी भर्न आएको देखे भने पनि पनि केही क्षण अघि वा पछि पधेरामा पुग्न थाले।यती लामो समयको अन्तरालमा पनि मैले आफ्ना मनका केही कुरा उनी सामु पोख्न सकिन वा चाहिन किनकी मेरा मनका उच्छबासहरुले उनको कोमल मनभित्र डढेलो लाग्छकी भन्ने डरले मलाइ सधैं सताइरह्यो म कदापी यस्तो चाहदैनथे बरु त्यसको अलाबा मेरा भाबनाहरु मनभित्रै गुम्साएर म आँफै बिष्फोट हुन सक्थे। केही कुरा अप्रत्यक्ष रुपमा त बुझ्न सक्थे त्यसमा पनि म असफल भए किनकी म ग्रामिण परिबेशको जन्जिर भित्र थुनिएको पंक्षी न थिए सानो कुरा भेटाए भए कसैको जिन्दगी नै प्रबाहा नगरी तिललाई पहाड बनाएर छोड्छन त्यसैले मैले त्यो जोखीम पनि उठाउन चाहिन। उनिसग केही क्षण सगै रहन त मलाइ डर लाग्थ्यो शायद उनीलाई पनि धेरै कुराको त्रास थियो होला। मलाइ कुन रुपले हेर्थिन मलाइ अपसोच थिएन तर म उनीलाई प्रेम गर्थे केबल प्रेम।
के कसैलाई प्रेम गर्नु पाप हो? होईन अबश्य यदि चोखो आत्माले गरिन्छ भने तर क्षणिक आनन्दको लागि प्रेम गरेको बाहाना बनाइन्छ भने त्यो पाप होईन महापाप हो। अचम्मको छ यो मन जुन कुराको प्राप्ती असम्भब छ त्यहि बस्तुको यादमा पागल बनाउने जसलाई एउटा देबीको रुपमा पुजा गर्न मिल्छ उनलाई प्रेमिका बनाउने मिठो सपना देखाउने। यो मनको के कुरा गर्नु ३ लोक १४ भुबन निमेष भरमा डुल्छ,संसार सेकेण्ड भरमा उजाड बनाइदिन्छ तर मनको मात्र के दोष सहि चेतनाले मैले यसलाई उचाल्न नसक्नु पो कमजोरी हो। म उनीलाई प्राथनाको प्रेम् गर्छु नकी बासनाको।

समयको पावण्डिता चाहेर पनि रोक्न नसकिने । दु:ख छोटो भए पनि लामो जस्तो लाग्ने अनी खुशी लामो भएपनि क्षणभर जस्तो लाग्ने रहेछ।झन्डै १ महिनाको लामो समयले नेटो काट्दै थियो,मिलन पछिका बिछोडिने दिनहरु निम्तिदै थियो। दशैं तिहार पछि लगत्तै क्याम्पस खुल्ने भएकाले म भाइटिकाको भोलिपल्टै काठमाण्डौतिर लागे उनी भने केही दिन पछि मात्र फर्कने योजनामा थिइन । २ महिना बित्यो, जाडो बिदा शुरु भयो म घर फर्के अनी सुने गाउका सगीसाथीहरुबाट उनीले बिहे गरिछन आफ्नै मनले रोजेको केटासग। म झसङ्ग भए यी कुरा सुनिरहदा,मन अमिलो भएर आयो,थाहै नपाई नयन रसिलो हुँदै आँशु पोखिन थालेछन। मन सम्हाले जे भो राम्रै भो भनेर।

७ बर्ष पछि उनिसग पुन: भेट भयो २ छोरीको आमा बनिछन,सुन्दरतामा अझै निखारता आएछ। मुसुक्क हाँस्दै उनीले भनिन तपाईं त उस्तै हुनुहुदोरहेछ। प्रतिउत्तरमा मैले भए परिवर्तन हुने दिन अझै आएन यो जिन्दगीमा। छेउकै कुर्सी तानेर बस्न आग्रह गरिन। सन्चो बिसन्चो, कहाँ,के गरिदै छ यस्तै थोरै भलाकुसारी भयो छेउमा आएर सानी नानीले कोट्याउदै सोधिन मम्मी को हो?-'मामा' कति सजिलै उनले नयाँ साईनो बाधिदीइन। म चुपचाप उनीलाई हेरिरहे। दुबै जना मौन भयौ एकछिन त्यसपछि मैले बिदाइ मागे। खाना खाएर जान उनीले आग्रह गरिन भोको पेट भएपनि भरखर खाना खाएको बाहान बनाए। अब कहिले हुन्छ होला है फेरि हाम्रो भेट उनीले मुख खोलिन। संसार त्यति ठुलो छैन निता भेट अबश्य हुन्छ चाडै भलै समय,तिमी,म र हाम्रा गन्तब्य प्रिथक र परिवर्तनशिल किन नहोस। अहिलेलाई बिदाइ हात हल्लाउदै म टाढिए उही अतित उस्तै रुपमा फेरि बल्झाएर।
कसैले ढोका ढकढकाउदै थियो बिछ्छयौनाबाट उठेर ढोका खोले जुलिया ढोका अगाडी उभिदै भनि प्रबिण!मलाई ट्रेन स्टेशनसम्म छोडिदिन सक्छौ? मेरो १७:४५को ट्रेन छ। मैले ओके भने ड्रेसअप गरे झ्यालको पर्दा खोले झरी परि रहेको थियो।




.

No comments: